जसले भुटानी फुटबललाई जुरुक्क उठाए

|

काठमाडौं : १६ मार्च २०१५ मा विश्व चर्चित पत्रिका द गार्जियनले एउटा समाचार छाप्यो, जसको शीर्षक थियो– ‘वर्ल्ड वर्स्ट टिम’ भुटान एम टु मेक हिस्ट्री एगेन्स्ट श्रीलंका अर्थात् ‘विश्वकै सवैभन्दा खराब टिम’ भुटानले श्रीलंकाविरुद्ध इतिहास बनाउने लक्ष्य राख्यो। 

दक्षिण एसियाको मात्र होइनऽ तत्कालीन समयमा भुटान विश्वकै सबैभन्दा कमजोर टोली थियो। तर भुटानले विश्वकप छनौटमा जुन नतिजा निकाल्यो - त्यसको कल्पना सायदै श्रीलंकाले गरेको थियाे। 

तत्कालीन समयमा भुटान २०९औं र श्रीलंका १७३औं स्थान अर्थात् नेपाल भन्दा पनि ७ स्थान माथिको टोली ! तर दुवै लेगमा भुटानले अप्रत्यासित नतिजा निकाल्याे।

सन् २०१८ को रसिया विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा भुटानले आफु भन्दा ३६औं स्थान माथि रहेको टोली श्रीलंकाविरुद्ध उसकै गृह मैदान कोलम्बोमा १–० गोल अन्तरको जित निकाल्यो। 

१७ मार्चमा खेलेकाे दोश्रो लेगमा पनि भुटानले  राजधानी थिम्पुको चाङ्लिमिथाङ रंगशालामा श्रीलङ्काविरुद्ध २–१ को जित हासिल गर्‍याे। याे जितसँगै इतिहासमा पहिलो पटक भु६ान विश्वकप छनोटको दोश्रो चरणमा पुग्यो। १३औं सागको नतिजालाई छाड्ने हो भने यो नै भुटानी फुटबलको हालसम्मकै उत्कृष्ट नतिजा हो । 

विश्व फुटबलमा प्रवेश गरेको ३७ वर्षको अवधिमा भुटानले फिफाबाट आधिकारिक रुपमा अनुमति पाएको र नपाएको गरी कुल ९३ खेलमा ११ जित निकालेकाे छ। त्यसमध्ये भुटानी टाेलीले पाँचवटा जित चाङ्लिमिथाङ रंगशालामा नै निकालेकाे हाे।

फुटबल खेल्न सुरु गरेको २० वर्षपछि याे हिमाली मुलुककाे राष्ट्रिय टाेलीले क्यारेवियन टोली मोन्ट्सेरेटविरुद्ध ४–० गोल अन्तरले पहिलाे जित पनि निकाल्याे। 

त्यतिखेर मोन्ट्सेरेट फिफा वरियताको २०३ औँ वरीयतामा थियो भने भुटान २०२औं स्थानमा। संयोगवश खेल मैदान पनि भुटानकै चाङ्लिमिथाङ रंगशाला थियाे। सन् १९७४ मा बनाइएको त्यो रंगशालामा २८ वर्षपछि भुटानले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय खेलमा सहभागी बन्दै जित निकाल्यो।  

एसिया कप छनौटअन्तर्गत २३ अप्रिल २००३ का दिन गुआमविरुद्ध निकालेकाे ६–० काे नतिजा भुटानी फूटबलकाे हालसम्मकै सबैभन्दा फराकिलो जित हाे । भुटानी टाेलीले याे नतिजा पनि चाङ्लिमिथाङ रंगशालामा नै निकालेकाे थियो। 

चार दिनपछि फेरि त्यही मैदानमा भुटानी फूटबल टाेलीले कम्बाेडियासँग गोलरहित बराबरीको नतिजा निकाल्यो। हालसम्म चाङ्लिमिथाङमा कुल १५ खेल  खेलेकाे भुटानी टाेलीले पाँच खेलमा जित निकालेकाे छ, एक खेल बराबरी खेलेकाे छ भने अन्य नाै खेलमा पराजय भाेगेकाे छ।

अहिलेको एसियाको बलियो मानिएको कतारविरुद्ध रसिया विश्वकप छनोटको पहिलो लेग १५–० ले हारेको टोलीले २ महिनापछि दोश्रो लेगमा सुधारिएको खेल देखाउँदै घरेलु मैदान चाङ्लिमिथाङमा ३ गोल मात्रै खान पुग्यो।

त्यसैगरी एसिया कप क्वालिफायरको तेश्रो चरणको पहिलो लेगमा ओमानसँग १४–० ले हारेको टोली दोश्रो लेगमा घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै ४–२ ले मात्र पराजित बन्यो। हङकङ र चीनजस्ता टोलीविरुद्ध पनि घरेलु भूमीमा भुटानले सम्मानजनक पराजय व्यहोरेको छ। 

नेपाल र भुटानलाई चाङ्लिमिथाङ किन सहज ?

हरेक टोलीका लागि घरेलु मैदान तुलनात्मक रुपमा सहज मानिन्छ। तर नतिजा घरेलुको टोलीको पक्षमा हुन्छ भन्ने रहँदैन। तर पनि समानस्तरको टिमविरुद्धको खेलमा घरेलु टोलीको जित सम्भावना अलि बढी नै हुन्छ। अन्य देशका तुलनामा भुटानको सम्भावना भने १७ वर्षको अवधिमा तुलनात्मक रुपमा घरेलु मैदानमा बढी नै देखिन्छ। 

भुटानलाई घरेलु मैदान सहज हुनुको मुख्य कारण त्यहाँको मौसम पनि हो। भुटानको राजधानी थिम्पु विश्वकै तेश्रो अग्लो स्थान (२३३४ मिटर) मा रहेकाे राजधानी हो। त्यही सहरमा छ चाङ्लिमिथाङ रंगशाला। त्यहाँ ९० मिनेट फुटबल खेल्न पनि निक्कै असहज मानिन्छ। समुन्द्री सतहबाट नजिकै रहेका अरब मुलुकविरुद्ध भुटानको नतिजा घरेलु भूमिमा सन्तोषजनक रहेको छ। 

विश्वकप छनौटअन्तर्गत कुवेतले नेपालविरुद्ध भुटानी मैदानमा खेल्न आनाकानी गर्नुको कारण पनि उसका लागि मौसमको प्रतिकुलता नै हो। कुवेतले उनीहरूको वातावरण सुहाँउदो देश कतारमा खेल आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) सँग पहल थालेको थियो।

तर एएफसीले नेपालको वातावरणसँग मिल्दो भुटानमा खेलस्थलको अन्तिम निर्णय गरेपछि थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल भयो, जहाँ नेपालले सुधारिएको नतिजा निकाल्यो। 

अवे खेलमा ७–० ले हारेको नेपाल चाङ्लिमिथाङमा मात्र १ गोल खान पुग्यो। अरबी मुलुक कुवेतको सबैभन्दा अग्लो भु–भाग नै समुन्द्री सतह भन्दा ३०८ मिटर मात्र छ।

भुटानी फूटबलका नायक

सन् २०१२ पछाडि हो भुटानले बढी भन्दा बढी प्रतियोगितामा सहभागिता जनाएको। धेरैजसो नतिजा उसको पक्षमा रहेन, तर केही यस्ता नतिजा निस्कियो : जसको कल्पनासमेत गरिएको थिएन्। 

कतार, ओमन, चीन र हङकङविरुद्ध दोश्रो लेगको नतिजा, विश्वकप छनोटको दोश्रो चरण तथा १३ औँ सागमा श्रीलंका, माल्दिभ्स र बंगलादेशविरुद्धको जित केही उदाहरण हुन्। 

उमेर समुहको प्रतियोगितामासमेत भुटानले ठूलै फड्को मारेको मान्न सकिन्छ। जसका लागि नायक हुन्-भुटान फुटबल संघका अध्यक्ष तथा एसियाली फुटबल महासंघ एएफसीका कार्यकारी सदस्य उगेन सेन्छुप दोर्जी। दोर्जी दक्षिण एसियाको माल्दिभ्सबाहेकका राष्ट्रको प्रतिनिधित्व गर्दै सन् २०२३ सम्मका लागि एएफसीको कार्यकारी सदस्यको रुपमा छन्।  

भुटानमा फुटबल भित्र्याउनेमध्येका एक दोर्जीले चार वर्षअघि बिबिसीसँगको अन्तर्वार्तामा भनेका थिए-‘सानैदेखि म स्कूलको टोलीका लागि खेल्ने गर्थें। त्यसपछि जब विश्वविद्यालयमा थिएँ, म मेरो कलेजको टिमका लागि खेल्थेँ र जब म फर्किएँ, तब म पनि सामेल भएँ’, सेन्छुप भन्छन् ‘प्रजातन्त्र अघि हामीसँग सधैं मन्त्रीहरू थिए, जसले फुटबल महासंघका अध्यक्षको पद लिन्थे। तर प्रजातन्त्रपछि म उत्साहित भएँ, चुनावमा खडा भइ विजयी भएँ।’ 

फुटबल संघको अध्यक्षमा उगेन सेन्छुप दोर्जी आएपछि नै हो भुटानी फुटबललाई द गार्जियन र बिबिसीले ‘विश्वकै नराम्रो फुटबल टिम’ को अप्रत्यासित नतिजा भन्दै समाचार प्रकाशन गर्न थालेको। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.