|

वर्ल्ड एन्टीडोपिङ एजेन्सी (वाडा) ले रुसी खेलकुदमाथि चारबर्षे प्रतिबन्ध लगाएको छ। खेलमा शक्तिबर्द्धक लागुऔषध प्रयोग गरेको पुष्टि भएसँगै नियामक वाडाले रुसमाथि कडा प्रतिबन्ध लगाइदिएको हो।

स्वीट्जरल्याण्डको लुसानमा बसेको वाडाका कार्यकारी समिति बैठकले रुसविरुद्धको प्रस्तावलाई एकमतले पारित गरेको हो। प्रतिबन्ध लागेसँगै आउँदो बर्ष जापानको टोकियोमा हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फूटबलमा रुसको राष्ट्रियगान बज्ने छैन, झण्डा फहरिने छैन।

यसको अर्थ यी दुवै खेलकूद महाकुम्भमा रुसले सहभागीता जनाउन पाउनेछैन । यद्यपीः जो खेलाडीले आफु डोपिङ काण्डबाट बाहिर रहेको पुष्टि गर्न सक्नेछन्, उनीहरुले एक तटस्थ झण्डामुनि बसेर खेल्न पाउनेछन्।


यो प्रतिबन्धका बावजुद पनि रुसले युरो २०२० फूटबल प्रतियोगितामा भाग लिन पाउनेछ। किनकी वाडाले युरोपेली फूटबलको नियामक 'युएफा'लाई मुख्य खेल संगठन मान्दैन।


रुसको एन्टी डोपिङ एजेन्सी (रुसाड) ले सन् २०१९ मा जाँचकर्ताहरुलाई दिएको ल्याब तथ्याकमा हेरफेर गरेको थियो। रुसको यस्तो हर्कतपछि वाडाले पछिल्लो प्रतिबन्ध लगाएको हो।

खेलकुद क्षेत्रमा अपराध मानिने डोपिङलाई राज्यस्तरबाटै संरक्षण दिएको पत्ता लागेपछि रुसमाथि तीन बर्षे प्रतिबन्ध लागिसकेको छ। खेल परीक्षणको तथ्यांक माग्दा रुसले प्रतिबन्ध हटाउनुपर्ने शर्त राखेपछि सन् २०१८ मा सो प्रतिबन्ध फुकुवा गरिएको थियो। 

पछिल्लो पटक लगाईएको प्रतिबन्ध फुकुवा गर्न रुसले २१ दिनभित्र अपील गर्नुपर्नेछ । रुसमाथि सन् २०१५ देखि नै एथ्लेटिक्समा भाग लिन प्रतिबन्ध लागिरहेको छ। 
सन् २०१४ मा भएका सोची शीतकालिन ओलम्पिकमा प्रतिबन्ध लागेपछि गत बर्ष प्योङ्गचेङ्गमा भएको शीतकालिन ओलम्पिकमा रुसका १६८ जना खेलाडीहरुले तटस्थ झण्डामुनि बसेर प्रतियोगितामा भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.