|

धनकुटा :  धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारणसभा सोमबारबाट शुरु भएको छ। साधारणसभा आगामी २८ गते नयाँ नेतृत्व चयन हुँदै सम्पन्न हुने कार्यक्रम तय भएको छ।

त्यसकारण पनि अहिले धनकुटा उद्योग वाणिज्य संघको कार्यालयमा भीडभाड हुनुपर्ने हो। त्यसकारण पनि उद्योग वाणिज्यमा घुइँचो हुनुपर्ने समयमा मंगलबार बिहान उद्योग वाणिज्य संघको कार्यालय सुनसान छ।

निजी क्षेत्रका व्यापारीको छाता संगठन मात्रै होइन, धनकुटा उद्योग वाणिज्य संघ व्यापारीको हकहित, उन्नति, प्रगतिको विषयमा पनि सरोकार राख्ने उद्योग वाणिज्य संघ नै हो। तर, उद्योग वाणिज्य संघकै कारण जिल्लाका व्यापार, व्यवसायीले आफ्नो व्यवसाय दर्ता तथा नविकरण गर्न नपाएको भन्दै उद्योग वाणिज्य संघ धनकुटामा ताला लागेको छ। 

ताला लागेको ठाउँमा कुनै संस्था तथा व्यक्तिको हस्ताक्षर नभएको तर, व्यवसाय दर्ता तथा नविकरण गर्न नपाएका व्यवसायीहरु भनेर उल्लेख गरिएको प्रेस विज्ञप्ती फेला परेको छ। विज्ञप्तीमा उद्योग वाणिज्य संघ धनकुटामा नयाँ व्यवसाय दर्ता गर्न पाउनुपर्ने र छुटेकाले नविकरण गर्न पाउनुपर्ने त्यसपछि मात्र उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्वको निर्वाचन गरिनुपर्ने माग गरिएको छ।

यता उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले कार्यसमितीको बैठक बस्ने तयारी भइरहेको त्यसमा केही छलफल गरि ताला लगाउने पक्षको पहिचान गरि समस्या समाधानको पहल भइरहेको बताए।

यसअघि सोमबार भएको ४५ औँ साधारणसभाको बन्दसत्रमा बोल्ने अधिकांश व्यवसायीले नयाँ व्यवसाय दर्ता गर्न पाउनुपर्ने र छुटेकाले नविकरण गर्न पाउनुपर्ने त्यसपछि मात्र उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्वको निर्वाचन गरिनुपर्ने माग गरेका थिए।

उद्योग वाणिज्य संघ धनकुटाको आगामी २८ गते नयाँ नेतृत्वको लागि निर्वाचनमा प्रजातान्त्रिक समूहले नेपाली कांग्रेस धनकुटा सचिव विजयसञ्तोषी राईको नेतृत्वमा चुनावी मैदानमा जाने तयारी गरेको छ भने प्रगतिशिल समूहले हाल उद्योग वाणिज्य संघकी उपाध्यक्ष रहेकी मनकुमारी तितुङ ‘तारा’को नेतृत्वमा चुनावी मैदानमा जाने तयारी गरेको छ। उद्योग वाणिज्य संघ धनकुटामा अध्यक्ष र विभिन्न पदाधिकारी सहित १९ पदमा निर्वाचन हुने भएको छ। संघमा साना, मझौला र ठूला गरी १ हजार ४८ र वस्तुगतका १० गरि १ हजार ५८ मतदाता रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.