|

बाँके : तनावग्रस्त रहेको कोहलपुर मंगलबार बिहानबाट सामान्य बन्दै गएको छ।

ट्रकको ठक्करबाट स्थानीय त्रिभुवन नमुना मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थी र स्थानीय सडकमा उत्रिएका थिए। आइतबार र सोमबार कोहलपुर तनावग्रस्त बनेको थियो। विद्यार्थी र प्रहरीबीच आइतबार दिनभर दोहोर झडप भएको थियो।

प्रहरीविरुद्ध विद्यार्थी र स्थानीय सडकमा उत्रिएर ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौ अश्रु ग्यास, हवाई फायर र रबरको गोली प्रहार गरेको थियो। यसबाट पनि विद्यार्थीको आन्दोलन नरोकिएपछि बाँके प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो।

कोहलपुरको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले लगाएको निषेधित क्षेत्र हटाएको छ। सोमबार बेलुकी पीडित पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै कोहलपुरमा लगाइएको निषेधित क्षेत्र हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए।

उनले कोहलपुरमा बिहान सद्भाव र्‍यालीसँगै निषेधित क्षेत्र हटाइएको बताए। प्रशासनले पूर्वमा रोहिणी खोला, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता चोक र दक्षिणमा पिपरी चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

यसैबीच, शान्ति र सद्भावका लागि मंगलबार बिहान कोहलपुरमा सद्भाव र्‍याली निकालिएको छ। प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक दल, उद्योगी, व्यवसायी, प्रहरी प्रमुख, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थीको सहभागितामा सद्भाव र्‍याली निकालिएको हो।

सद्भाव र्‍यालीसँगै कोहलपुरको जनजिवन सामान्य बन्दै गएको छ। बजार खुलेका छन् भने, यातायातका साधन संचालनमा आएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.