'अब पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद'

|

काठमाडौं : कहिले खेदिँदै त कहिले उचालिँदै आएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सचिवालय सदस्य वामदेव गौतम पुन: शक्तिशाली बन्दै गएका छन्। गौतमले पछिल्लो समयमा पार्टीभित्र आफ्नो सक्रियता पनि बढाएका छन्। इमान्दार सहासी तर अस्थिर नेताका रूपमा परिचित नेता गौतम संगठन विस्तारका लागि आवश्यक ठानेर अध्यक्षद्वय ओली र प्रचण्डले विधान संशोधन गरेरै भए पनि उपाध्यक्ष बनाउने निर्क्योलमा पुगेका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक भएर सचिवालय सदस्य गौतम पार्टीभित्र सक्रिय भएर लागेका हुन्। अध्यक्ष प्रचण्डको सक्रियता बढेसँगै नेता गौतमले समेत पार्टीभित्र आफ्ना सक्रियता बढाएका हुन्। सोमबार बसेको नेकपाको सचिवालय बैठकले पनि पार्टीभित्र गौतमलाई उपाध्यक्ष बनाउनकै लागि विधान संशोधनको प्रस्ताव राखेको छ।

विधान संशोधन गरेर सचिवालय सदस्य गौतमलाई नेकपाले उपाध्यक्ष बनाउन लागिएको छ। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई सचिवालय सदस्य गौतमसँग रुष्ट भएर आफूलाई फाइदा नपुग्ने ठम्याइका साथ गौतमलाई व्यवस्थापन गर्न लागि विधान संशोधनको बाटो लिइएको एक नेताको भनाइ छ। 

गौतमले पछिल्लो समयमा राजनितिक भेटघाट र पार्टीभित्र दोहोरो सक्रियता बढाएका छन्। प्रधानमन्त्री ओली १० दिनसम्म अस्पतालमा बस्दा नेता गौतमले आफू प्रधानमन्त्री बन्ने धारणासमेत बाहिर ल्याएका थिए। गौतमले आफूलाई पार्टीभित्र बलियो बनाउनका लागि नेकपाभित्रकै आफू निकटका नेतासँग परार्मश गरिहेको समेत बुझिएको छ। पार्टी एकतापछि गौतम आफूलाई नेकपाभित्र उचित स्थानको खोजीमा थिए। 

गौतम रुझाउँदै ओली–प्रचण्ड
गौतमलाई आफूबाट रुष्ट हुनबाटै जोगाउनका लागि ओली–प्रचण्डले पार्टीको विधानमै नभएको ‘उपाध्यक्ष’ पद खडा गरेर झुलाउन खोजेका थिए। अन्तत: सो पदमा गौतमलाई राख्नकै लागि नेकपाले आफ्नो पार्टीको विधानसमेत संशोधन प्रक्रिया अगाडि बढाएको छ। 

सचिवालय बैठकले गरेको पार्टीको विधान संशोधनबारे आफूले चर्चा सुनेको भए पनि प्रष्टरूपमा अब स्थायी कमिटीको बैठकमा छलफल हुने संसदीय दलका उपनेता  तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

‘पार्टीको विधान संशोधन गर्ने सचिवालय बैठकले निर्णय गरेको छ। किन र कसको लागि विधान संशोधन गर्न लागेको भन्नेबारेमा स्थायी कमिटीको बैठकपछि मात्रै बताउन सकिन्छ’ उनले भने। पार्टीभित्र वामदेवको क्रियाशीलताको विषय स्वाभाविक भएको प्रतिक्रिया दिए। 

अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो। यसविषयमा गत वर्ष स्थायी समिति बैठकले विधानमा भएका त्रृटि संशोधन गर्ने र उपाध्यक्षको लागि विधान संशोधन गर्ने निर्णय गरेको थियो। 

सो निर्णयपछि अहिलेसम्म नेकपाको स्थानीय कमिटिको बैठक बस्न सकेको थिएन। पार्टीभित्र प्रचण्डको सक्रियता र वामदेव पक्षको दबाबकै कारणले तत्कालै स्थायी कमिटीको बैठक बोलाएको बुझिन्छ। यहि २९ गते बस्ने नेकपाको स्थायी कमिटीको बैठकले पार्टीको विधान संशोधन गर्नेछ। 

पार्टीको आवश्यकता हो 
पार्टीभित्र आवश्यकताअनुसार पार्टीको विधान संशोधन गर्न सक्ने नेकपाको स्थायी कमिटीको सदस्य देव गुरुङ बताउँछन्। ‘पार्टीमा आवश्यकता भएकै कारणले विधान संशोधन गर्न लागेको हो। त्यस विषयमा स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यसमा समग्रमा छलफल हुन्छ’ उनले भने। 

त्यसो त, सचिवालय सदस्य गौतमलाई उपाध्यक्ष बनाउनकै लागि पार्टीको विधान संशोधन गर्न लागिएको भन्ने चर्चा छ त भन्ने थाहाकर्मीको प्रश्नमा गुरुङले भने, ‘त्यसलाई त्यसरी लिन आवश्यक छैन। पार्टीको विधानमा उपाध्यक्ष पद थिएन। उपाध्यक्ष पद आवश्यक ठानेर नै संशोधन गर्न लागिएको हो। कसैलाई रिझाउन पार्टीको विधान संशोधन गर्न लागिएको हैन।’

बलियो बन्दै वामदेव​
आफूलाई अबको प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतम नेकपाभित्र बलियो बन्दै गएका छन्। नेकपाले पार्टीको विधान संशोधन गरेर उनैको लागि पार्टी संगठन विभागसहित उपाध्यक्ष पद खडा गरेपछि उनी पार्टीभित्र थप शक्तिशाली बन्दै गएका हुन्। 

नेकपाभित्र केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ। पार्टीको केन्द्रीय संगठन प्रमुख रूपपमा गौतम नै रहेका छन्। पार्टीको निर्णयले उनलाई थप बलियो बन्नका लागि सहयोग पुगेको छ। 
पार्टी सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे संगठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउने छ। आफ्नो कार्ययोजनाबारे देशव्यापी अभियान सञ्चालन गर्ने धारणा व्यक्त गर्दै आएका थिए। 

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तत्कालिक कार्यनीति समाजवादउन्मुख जनवाद रहने समावेश हुनेगरी पार्टीको विधान संशोधनको तयारी छ। 

यी विधान हुँदै छन् संशोधन 
नेकपाले पार्टी एकताको करिब १८ महिनापछि एकीकृत पार्टीको अन्तरिम विधान संशोधन गर्न लागेको छ। स्थायी समिति बैठकमा विधान संशोधन प्रस्ताव तयार पार्ने र निर्णयार्थ लैजाने निर्णय आगामी सचिवालयको बैठक र स्थायी कमिटीको बैठकले पूर्णता दिने नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँछन्। 

विधान संशोधन गर्दा प्रस्तावनामै परिमार्जन हुने उनको भनाइ छ। विधान संशोधनपछि मात्रै पार्टीको विधानमा आधिकारिक रूपमा उपाध्यक्ष पद स्थापना हुनेछ। चार महिनाअघि सचिवालयको बैठकले विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। 

विधान संशोधनको पहिलो अनुच्छेदको पहिलो, दोस्रो र तेस्रो वाक्यको सट्टा ‘यस पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो। तत्कालिक कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ। यो पार्टी जनताको जनवाद कार्यान्वयन गर्दै वैज्ञानिक समाजवाद निर्माण गर्न र समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्‍न सकिन्छ भन्ने विश्वास गर्दछ’ भन्ने रहेको छ। 

विधानको तेस्रो अनुच्छेदमा ‘समाजवादको आधार निर्माण’ पछिको ‘गर्नु यस पार्टीको तत्कालिक लक्ष्य हो’ को स्थानमा ‘गर्नु जनताको जनवादको मुख्य विशेषता हो’ भन्ने हुनेछ।

यस्तै, विधानमा धारा १८ को केन्द्रीय कमिटीको (घ) को १ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। धारा १८ मै उपधारा थप गरी उपाध्यक्षको अधिकार र कर्तव्यबारे व्यवस्था गर्नेछ। 

धारा १० (ख) मा ‘संगठित सदस्यता प्रदान गर्न’ पछि ‘र उपयुक्त कमिटीमा संगठित गर्न’ भन्ने वाक्यांश थप गर्नेछ। धारा २८ पछि (१) काठमाडौं उपत्यकामा गठन हुने चारवटा विशेष जिल्ला कमिटीलाई नेतृत्व प्रदान गर्न प्रदेश कमिटीस्तरको एक विशेष कमिटी गठन गरिनेछ। (२) धारा (क) बमोजिम गठन हुने विशेष कमिटीमा अध्यक्ष, सचिव र सदस्य रहने बताइएको छ। 

(३) धारा (क) बमोजिम गठन हुने विशेष कमिटीका अधिकार र कर्तव्य तथा त्यसका पदाधिकारी र सदस्यहरूको योग्यता प्रदेश कमिटीसरह हुनेछ। धारा ५९ (क) १ मा रहेको ‘स्थायी कमिटीको बैठक तीन महिनामा’ भन्ने ठाउँमा ‘स्थायी कमिटी बैठक दुई महिनामा’ हुने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.