|

काठमाडौं : कडा चुनौती दिएको भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलतर्फको स्वर्ण पदक जित्न सफल भएको छ। 

१८ हजार दर्शकमाझ् नेपालले पहिलो स्वर्ण जित्ने भुटानको सपनालाई तुहाउँदै १२औँ सागमा जितेको स्वर्णको रक्षा गर्न सकेको हो। युवा खेलाडीहरु उतारेको नेपालका लागि पहिलो गोल खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गर्दै अग्रता दिलाएका थिए। जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्। 

अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बाहिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छिराएका थिए।

उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरेका थिए। अभिषेकले यसअघि समूह चरणमा  भुटान र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए।

नेपालका लागि सुनिल बलले खेलको ५२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता २-१ मा पुर्‍याएका थिए। त्यसअघि खेलको १६औँ मिनेटमा लिएको अग्रता तोड्दै भुटानले खेलको ३६औँ मिनेटमा बराबरी गोल फर्काएको थियो। भुटानका लागि छेतेन ग्याल्जेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिससहित भुटानलाई खेलमा फर्काएका थिए। खेलको इन्जुरी समयमा नेपालले पेनाल्टीका अपिल गरे पनि पाएन। सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता नगरेपछि नेपालले पेनाल्टी पाएन।

यसअघि समूह चरणको भिडन्तमा नेपालले भुटानविरुद्ध ४-० को एकपक्षीय नतिजा निकालेको थियो। समूह चरणमा भुटानलाई हराउने क्रममा सुजल श्रेष्ठले दुई गोल गरेका थिए। त्यसबेला अभिषेक रिजाल र मिचेन तामाङले एक-एक गोल गरेका थिए।

त्यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै कप्तान सुजल श्रेष्ठलाई गुमाएको थियो। पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका थिए ।

बालगोपालको जित 

२० वर्षअघि रंगशालमा भएको आठौं सागको फाइनलमा नेपाल पराजित हुँदा खेलाडी रहेका बालगोपाल महर्जन देशका लागि प्रशिक्षकका रुपमा स्वर्ण जिताएका छन् । उनले फाइनल पुगेपछि अपराजित रहेर स्वर्ण जित्ने प्रतिक्रिया दिएका थिए। उनको योजना अन्तत: पूरा भयो।

पाकिस्तान र भारतपछि सागमा लगातार दुई स्वर्ण जित्ने अवसर पनि नेपालले सफल बनाएको छ। भारतले सन् १९८५ को दोस्रो र सन् १९८७ को तेस्रो सागमा स्वर्ण जितेको थियो । पाकिस्तानले १९८९ को चौथो र १९९१ को पाँचौं संस्करण जितेको थियो । पाकिस्तानले सन् २००४ को नवौं र सन् २००६ को दशौं संस्करण पनि लगातार स्वर्ण जितेको थियो ।

यो स्वर्णसँगै नेपालले फुटबलबाट पाकिस्तानले बनाएको सर्वाधिक ४ स्वर्णको कीर्तिमानमा पनि बराबर गरेको छ। भुटानले भने पहिलो पटक सागमा  ऐतिहासिक स्वर्ण जित्ने अवसर गुमाएको छ। 

अघिल्लो सागको विजेता टोली भएकाले नेपाली खेलाडीहरूको आत्मविश्वास उच्च थियो। सन् १९८४, सन् १९९३ र सन् २०१६ मा नेपालले चार पटक दक्षिण एसियाली फुटबलको उपाधि जितिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.