|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँच वर्षअघि निर्माण गरिएको साइकल लेन संचालनमा ल्याउन तयारी गरेको छ। मंगलबार राजधानीको रविभवनमा एक अन्तक्रिया कार्यक्रम गरी साइकल लेन संचालनमा ल्याउनबारे जानकारी दिइएको हो।

काठमाडौं महानगरपालिकाले २०१४ मा माइतीघरदेखि बबरमहलको आर्ट काउन्सिलसम्म निर्माण गरेको साइकल लेन संचालन गर्न लागेको हो। महानगरले निर्माण गरेको साइकल लेनको जानकारी नभएर लेन सञ्चालनमा आउन सकेको थिएन।

महानगरले पुरानो साइकल लेनलाई स्तरउन्नति गरेर संचालनमा ल्याउन लागिएको हो भने नयाँ क्रमश निर्माण गर्दै जाने भएको छ। जसअनुसार सडकको दाँयाबाँया लेन निर्माण हुनेछ। लेनको चौडाइ ७ फिट ६ इन्चको हुनेछ। साइकल लेनको लागि तीन करोड बजेट विनियोजन गरिसकेकको महानगरपालिकाले जनाएको छ।

यसबारेमा महानगरपालिका सहरी सु-व्यवस्था योजना आयोगका पदाधिकारी र साइकल सोसाइटी काठमाडौंले सरोकार निकायसँग ‍छलफल गरेको हो। अन्तरक्रिया कार्यक्रममा साइकल लेनको गुरुयोजनासमेत सार्वजनिक गरेको थियो।

अन्तरक्रियामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नु पर्ने सहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नु पर्नेमा जोड दिए। उनले भने, 'सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल चाहिन्छ। ठूला सवारी र पैदलयात्रीको यात्रा व्यवस्थासँगै तयार पार्नुपर्छ।'

काठमाडौं सहर निर्माण हुँदा, यहाँका सडक सहरी चरित्रकाभन्दा बढी राजमार्ग चरित्रका बनाएको उनको भनाइ थियो। 'समयको माग अनुसार सडकको निर्माण गरिएको थियो,' उनले भने।

त्यसैगरी, सबै प्रकारका सवारी साधनलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने योजना रहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए।

तीनकुने सडक खण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि बिस्तार गरिने उनले प्रष्ट पारे। 'साइकल लेन निर्माण भइसकेको छ। निर्माण भइसकेको लेनलाई व्यवस्थित तरिकाले  सञ्चानलमा गरिन्छ', उनले भने।

सडक पूर्वाधार तयार पार्दा पैदलयात्रीलाई लक्षित गरी बनाउनुपर्ने वातावरणविद् भुषण तुलाधरले बताए। सहरका सडक डिजाइन गर्दा गाडीलाई हेरेर पूर्वाधार बनाइएकोले समस्या आएको उनले  टिप्पणी गरे।

उनले भने, 'एउटा गाडीका लागि आवश्यक ट्र्याकमा तीनवटा साइकल लेन बनाउन सकिन्छ।' साइकल लेनबाट गाडीमा भन्दा धेरै मानिसले  यात्रा गर्न सक्ने उनको भनाइ थियो। विगतमा भएको सडक निर्माणको कमजोरी देखाउँदै तुलाधरले अब पनि यसलाई सुधार गर्न सकिने धारणा राखे।

नेपाल साइकल सोसाइटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकल यात्रा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.