चितवन : चितवनको भरतपुर महानगरपालिका २७ मेघौलीमा २३ करोड लगानीमा राइनोपार्क बन्ने भएको छ। भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा बन्ने पार्क मुलुककै ठूलो पार्कअन्तर्गत पर्ने जनाइएको छ। ५ सय ५५ विघा क्षेत्रफलमा फैलिएको राइनो पार्कमा वन्यजन्तुको मूर्ति, संग्रहालय तथा विभिन्न टावरहरू बन्ने छन्।
पार्कको मुख्य आकर्षणको रूपमा ३० फिट उचाइ, ४० फिट लम्बाइको दुईतले गैँडाको मूर्ति बन्ने पर्यटनविज्ञ विश्व सुवेदीले बताए। जसको पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोश्रो तलामा अखेटोपहार संग्रहालय, बहुजातीय संग्रहालय रहने छ। २ करोड ८९ लाख ४४ हजार ४ सय ४ रुपैयाँ लागतमा निर्माण हुने गैँडाको मूर्तिमा मानिसहरू गैँडाको खुट्टाबाट प्रवेश गरेर मुखमा निस्कनेछन्।
यस्तै, पार्कमा असहाय वन्यजन्तुको उद्धार केन्द्र, २५ विघा क्षेत्रमा ताल बन्नेछ भने ५० विघामा घाँसे मैदान बन्ने छ। बोटिङसँगै जंगल सफारी र टाइगर टावर, ब्ल्याक स्ट्रोक टावर, ह्वाईट स्ट्रोक टावर, क्रोकोडायल टावरहरू पनि निर्माण हुनेछ।
पर्यटकीय क्षेत्र मेघौलीमा बन्ने पार्कको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मंगलबार शिलान्यास गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।