|

पोखरा : आइएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा बाराहीघाट लेकसाइडमा हुने भएको छ। आयोजक बुकवर्म फाउण्डेसन र ‌ र्‍यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७-३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो।

आयोजक संस्था बुकवर्म फाउण्डेसनका निर्देशक अजित बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए। ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासाे र सुझाव आयो’, उनले भने,‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई साहित्य सम्मेलनमा ल्याउन लागेका छौं।’ 

चार दिनसम्म चल्ने फेस्टिबलमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन्। त्यसमध्ये १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए। ‘फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकलाई पनि ल्याउन लागेका छौं। त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रीयकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं’, उनले भने। फेस्टिबलमा ४० भन्दा बढी सेशन समावेश गरिएको छ।

फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो। ५औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो। फाउण्डेसन निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिबल भइरहेको सुनाए। उनले भने,‘भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं। तर, अहिले पोखरा नै उत्तम ठाउँ भएको छ। यो पोखरेलीको पनि महोत्सव हो।’

फेस्टिबलको अर्का आयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे। ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन्। त्यसले पनि हामीलाई अपनत्व महसुस भएको छ’, उनले भने,‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं।’

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाँझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन्। महोत्सवले पोखरालाई छुट्टी मनाउनआउने शहर मात्रको परिचयबाट माथि उठेर साहित्यको केन्द्र बनाएको बताइन्। उनले भनिन्, ‘व्हाट द बुक क्लब पाठकको क्लब हो। यो पोखरामामात्रै होइन। अरु धेरै शहरमा पनि हुन जरुरी छ।’

महोत्सवमा डिएससी पुरस्कार प्रदान गरिने

महोत्सवको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो।

नेपाल साहित्य महोत्सवसँग सहकार्य गरी पुरस्कार वितरण गर्न पाउँदा पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले खुसी व्यक्त गरिन्। उनी भन्छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। सुन्दर शहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सव २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौं।’

पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रवर्द्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएको उनी सुनाउँछिन्। ‘दक्षिण एसियाली राष्ट्रमा प्रत्येक वर्ष क्रमबद्ध तरिकाले पुरस्कार घोषणा गर्ने योजनाअनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिबलमा पुरस्कार घोषणा गर्न लागिएको हो’, उनी भन्छिन्।

महोत्सवको उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वतप्रवचन रहने आयोजकले जनाएको छ। यसअघि कात्तिकमा महोत्सवको जनकपुर संस्करण भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.