|

सिरहा : गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन्।

गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी समाचार कान्तिपुर दैनिकमा छ। १५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरुले प्रदर्शन गरेका छन्। पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे। प्रहरीले दुई घण्टापछि राजमार्ग खुलाएको थियो।

उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो। नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी पासवान अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएकी थिइन्।

उनी उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए। पासवान दैनिक बिहान ८ देखि ४ बजेसम्म उद्योगमा काम गर्थिन्।

मजदूरहरुले सेवा सुविधाको विषयलाई लिएर माग गरी केही दिनदेखि उद्योगमा अवरोध गर्दै आएका थिए। अवरोधमा संलग्न अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुई पटक स्पष्टीकरण सोधेको थियो।

प्रशासकीय अधिकृत शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमबार उनलाई सेवाबाट अवकाश दिएको थियो। उनी उद्योगको अखिल नेपाल औद्योगिक मञ्चकी सदस्य थिइन्।

सबै मजदुर काममा गएका बेला अनितालाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले हतोत्साहित भएर आत्महत्या गर्न पुगेको दाबी मजदुरहरुको छ। मजदुरहरुले उद्योग व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.