|

दाङ : दाङमा कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु भएको छ। देउखुरी क्षेत्रमा मैक जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागु भएको छ।

परियोजना लागु भए पनि यस क्षेत्रमा सिंचाइ, मललगायतको समस्या समाधान भएको छैन। गत आर्थिक वर्षमा पश्चिम  दाङका तीन गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १ र २ मा तोरी जोन कार्यक्रम लागु भएको छ। तोरी उत्पादन वृद्धि गर्न उक्त कार्यक्रम लागु गरे पनि सिंचाइ र मलको समस्या भने समाधान नभएको शान्तिनगर गाउँपालिका–२ का ईश्वरी न्यौपानेको गुनासो छ। पहिला परम्परागत रुपमा गरिएको तोरी खेतीभन्दा उन्नत जातको तोरीमा उत्पादनमा बढेको भए पनि तोरीलाई आवश्यक पर्ने बेला मल र पानी नपाउँदा समस्या भएको न्यौपानेको भनाइ छ। 

सोही वडाको अमुवामा प्रगतिशील कृषी महिला समूह गठन गरी करिब २० बिघामा तोरी खेती गरेको समूहकी अध्यक्ष सरस्वती न्यौपानेले जानकारी दिइन्। तोरी छर्ने बेला बारीमा  चिसो नहुँदा र तारी छरी सकेपछि पानी समयमै नपाउँदा समस्या हुने गरेको उनले बताइन्। तोरी जोन कार्यक्रम लागु भएपछि उन्नत जातको बिउ, मल, औजारहरु सहुलियतमा पाउने गरेको भए पनि सिंचाइ अभावमा उत्पादन उल्लेख्य नभएको उनको भनाइ छ।

दाङलाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा सञ्चालन गरे पनि यस कार्यक्रममा सबै किसान समेटिएका छैनन्। सबै किसानहरुलाई समेट्न नसक्दा लक्ष्यअनुसार तोरी उत्पादन नहुने तोरी जोन दाङको सञ्चालक समितिका सचिव थम्मन कँडेलले  बताए। ‘हामीले उन्नत जातको तोरी रोपेका छौँ,’ उनले भने, ‘तर छिमेकीले अन्य तोरी रोपेका छन्। त्यही तोरीले परागशेचनमा समस्या हुने भएकाले तोरी उत्पादनमा ह्रास आउँछ।’

उन्नत जातको तारी खेती गरिएको ठाउँबाट करिब २०० मिटरको दूरीमा अर्काे तोरी खेती हुनुपर्छ। तर, यस क्षेत्रमा सबै किसान सुपर जोन कार्यक्रममा नसमेटिएकाले सँगै अर्को जातको तोरी खेती गरिएको छ। यस तोरी उत्पादनमा बृद्धिमा समस्या हुने सचिव कँडेल बताउँछन्। गत वर्षमा उन्नत खेती गर्दा अन्य जातको तोरीभन्दा करिब तीन प्रतिशतले उत्पादनमा बृद्धि भएको उनले बताए।  

शान्तिनगर–२ कै किसान वासुदेव न्यौपानेले उन्नत जातको तोरी खेती गर्दा पहिलेभन्दा उत्पादन बढे पनि रोगका कारण समस्या हुने बताए। ‘तोरीको दाना लाग्ने बेलामा रोग लाग्छ,’ उनले भने, ‘त्यसलाई कसरी नियन्त्रण गर्ने हामीलाई समस्या हुन्छ।’

पश्चिम दाङका तीन गाउँपालिका र तुलसीपुरका १ र २ वडामा गरी २७ समूह र सहकारीमार्फत तोरी जोन कार्यक्रममा सहभागी भएको तोरी जोन इकाइ तुलसीपुरका धनराज गौतमले बताए। स्थानीय तहबाट सिफारिस गरेर पठाएकालाई मात्र समावेश गरेको बताए। त्यसैगरी सहकारी वा समूहले १५ बिघाभन्दा बढी तोरी खेती गर्नेलाई मात्र समावेश गर्ने उनले बताए। उक्त क्षेत्रमा करिब साढे ३०० हेक्टरमा उन्नत जातको तोरी खेती भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.