|

काठमाडौं :  ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा ऐतिहासिक महत्व झल्काउने प्रविधि जडान गरिने भएको छ। पाटन दरबार क्षेत्रको ऐतिहासिक महत्त्व र स्थानीय जातजातिको कला संस्कृति लाइटमार्फत देखाइने भएको हो।

साउण्ड र लाइटको डिस्प्लेमा ऐतिहासिक घटनाको जानकरी दिने गरी जडान गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ। विशेषगरी पाटन र समग्र ललितपुर जिल्लाको ऐतिहासिक स्थान खोजी गरी त्यसको सम्पूर्ण जानकारी डिस्प्लेमार्फत दिनेगरी महानगरले तयारी गरिरहेको छ। 

यसमा ललितपुरको पर्यटकीयस्थलको पनि समावेश गरिने भएको महानगरपालिकाको भनाइ छ। ललितपुर जिल्लाको पुराना कला कौशलयुक्त भवन र धाराहरू देखाइने भएको छ। प्राचीन शैलीमा निर्माण गरिएको घरहरूसमेत लाइटमार्फत देखाइनेछ।

पाटन दरबार संग्रहालय र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा लाइट र साउण्ड प्रविधिको जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका पर्यटन वर्ष २०२० का संयोजक दिलेन्द्रराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार ८ देखि १० करोडको लागतमा जडान गर्न लागिएको हो।

त्यसका लागि डिजाइन तयार भइरहेको उनले जानकारी दिए। उनले भने, 'दुई साताभित्रमा डिजाइनरले डिजाइन गरी हामीलाई हस्तान्तरण गर्नेछन्।' पर्यटन वर्ष २०२० लाई लक्षित गरी यस्तो प्रविधि जडान गर्न लागिएको उनको भनाइ थियो।

दैनिकजसो त्यहाँको ऐतिहासिक महत्त्व झल्किने स्थानहरूको प्रदर्शन गरिने श्रेष्ठले बताए। उनले भने, 'पाटन दरबार घुम्‍न आउनेले दरबार मात्र देख्नदैनन्। अब पाटन क्षेत्रमा बसोबास गर्नेहरूको पनि कला संस्कृति पनि देख्छन्।' नेपालमा यस्तो प्रविधिको जडान ललितपुर महानगरपालिकाले पहिलोपटक गर्न लागेको उनले बताए।

विदेशी पर्यटकले ऐतिहासिक दरबार देख्नुको साथै यहाँको जातजातिको चालचनल र रहनसहन एकसाथै देख्न पाऊन् भन्नका लागि यस्तो प्रविधि जडान गर्न लागिएको हो। संगीतसहित ऐतिहासिक धरोहर, पर्यटकस्थलको अवलोकन एकैस्थानबाट गर्न पाउने भएका छन्। पर्यटकले संगीत र विभिन्न रंगका लाइटका साथ ऐतिहासिक स्थानको अवलोकन गरी मनोरञ्जन लिन पाउने उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.