|

काठमाडौं :  नेपाल गुणस्तर परिषद्को सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनरावलोकन गरेपछिको मापदण्डले गुणस्तर खस्कनेतर्फ विज्ञहरूले संसदीय समितिको ध्यानाकर्षण गराएका छन्। 

यस क्षेत्रका जानकारहरूसँग बुधबार लेखा समितिले राखेको छलफलमा विज्ञहरूले नयाँ मापदण्डअनुसार सिमेन्ट उत्पादन गरेमा गुणस्तर खस्कने बताएका हुन्। प्राडा. गोकर्णबहादुर महतराले म्याग्नेसियम अक्साइड (एमजिओ) को मात्रा ५ बाट ६  प्रतिशत पुर्‍याउँदा पनि मापदण्ड पुग्ने निर्णय लिनुले पाँच वर्षमा यसको नकरात्‍मक प्रभाव पर्ने बताए।

'सक्दा एमजिओको मात्रा ३ प्रतिशत गराउँदा राम्रो हो, तर ५ प्रतिशतसम्म चलाइएको छ यसभन्दा माथि दिँदा गुणस्तर खस्कन्छ' महतराले भने। त्यस्तै, रसायन शास्त्रका जानकार डा. नुतम भट्टराईले पनि पाँच प्रतिशतभन्दा माथि पुर्‍याइनु सोचनीय भएको बताएका छन्। नेपालले करिब ४.६ प्रतिशतको मापदण्डमा यस्तो गुणस्तर कायम गर्न सकिने अवस्था रहे पनि ६ प्रतिशत पनि मापदण्डमा पारिनुले सिमेन्टको  गुणस्तरमा ह्रास आउने उनले बताए। 

लेखा समिति सदस्य ई. मोहन आचार्यले अहिलेको निर्णयले सिमेन्ट गुणस्तर खस्कने नै देखिएको अवस्थामा पुनारावलोकन गर्नुपर्ने बताए। कात्तिक दोस्रो साता उद्योगमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले ओपिसि सिमेन्टमा अघुलनशील पदार्थ (आइआर) को मात्रा २ बाट ४  र  एमजिओ मात्र ५ बाट बढाएर ६ सम्म पुर्‍याउँदा पनि हुने निर्णय लिएको थियो।

तत्कालीन लेखा समिति सदस्य तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि यस्तो निर्णयले सिमेन्टको गुणस्तर खस्कने बताएका थिए। 

अहिले भारत र अमेरिकामा पनि एमजिओको मात्रा ६ प्रतिशतसम्म तोकिए पनि त्यसभित्र कस्तो निर्माण हुने कस्तोमा नहुने भनेर शर्त तोकेको विज्ञहरूको भनाइ छ।

परिषद्ले २०५५ सालमा तय गरेको म्याग्नेसियमको मात्रालाई परिवर्तन गरेर नयाँ मापदण्ड बनाउन लागिएको हो। नयाँ मापदण्डले गुणस्तर खस्कने राय विज्ञले दिएपछि समितिले नापतौल विभाग र उद्योग मन्त्रालयसँग छलफल गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.