|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरूलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रूपमा मनाउन अपिल गरेका छन्।

 नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयले पर्यटन व्यवसायीहरूसँग भ्रमण वर्ष–२०२०को विषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरूलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रा गर्न आग्रह गरे।

‘नेपाल भ्रमण वर्ष–२०२० लाई उत्सवका रूपमा भव्यताको साथ मनाऔं। हरेक पर्यटन व्यवसायीहरूले उद्घाटनको दिन भव्य दीपवाली गर्नुहोस्। कार्यक्रममा पहिचानसहित आउनुहोस्’ भट्टराईले भने।

मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरूमा नेपाल भ्रमण वर्ष–२०२०को प्रचार सामग्री राख्न आग्रह गरे। उनले भने, ‘हामी अब केही दिनमा तपाईंहरूको कार्यालय, होटल, रेष्टुरेन्टहरूमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचार हुनेगरी केही न केही सामग्री राख्नुहोस्। यसको अनुगमन गर्नका लागि हामी तपाईहरूकोमा भ्रमण गर्नेछौं।’

नेपाल भ्रमण वर्ष–२०२०को विषयमा उत्कृष्ट काम गर्ने व्यवसायीहरूलाई सरकारले सम्मानित गर्ने पनि बताए। उनले भने, ‘राम्रो गर्नुहोस् हामी तपाईहरूको कामलाई सम्मान गर्नेछौं।’ मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरूको सहयोग जरुरी रहेको बताए। 

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले भ्रमण वर्षको तयारीको बारेमा बोलेका थिए। कार्यक्रममा एक दर्जन बढी व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संगठनका अगुवाहरूले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए। 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, वरिष्ठ व्यवसायी द्वारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ,  नदी संरक्षण संघका उपाध्यक्ष मेघ आले, वरिष्ठ आरोही मिङमा शेर्पा, टेन्डी शेर्पा व्यवसायी सुमन पाण्डे, आङछिरिङ शेर्पा, थानेश्वर देवकोटा, गंगाप्रसाद नेपाल लगायतले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए। 

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफललाई तीव्र बनाएका छन्।  मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफलको आयोजना गरेका थिए। 
यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दलनिकट जनसंगठनका अध्यक्षहरूसँग छलफलको आयोजना गरे।  

यसैगरी, मन्त्री भट्टराईले २३ मंसिर २०७६ मा नेपालका वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरूसँग छलफलमा गरे। यसैगरी २४ मंसिर २०७६ मा विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरूसँग छलफल गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.