|

बैतडी : बैतडीका स्थानीय तहका विषयगत शाखा नामका मात्रै भएका छन्। विषयगत शाखामा कर्मचारी नहुँदा नामका शाखा मात्रै भएका हुन्।

स्थानीय तहमा जनप्रतिनिधि आएको साढे दुई वर्ष बढी भइसक्दा समेत तहहरूले कर्मचारीकै अभाव झेलिरहेका छन्। जिल्लाको दशरथचन्द नगरपालिकाबाहेक अन्य पालिकाहरूमा कर्मचारीको चरम अभाव रहेको छ।

स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा सेवाप्रवाहमा निकै समस्या भएको तहहरूले जनाएका छन्। साबिकका कार्यालयबाट पाउने सेवासमेत पाउन नसकेको नागरिकले गुनासो गरेका छन्। गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकालगायतका शाखा कर्मचारीविहीन रहेका सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए।

पाटन नगरपालिकामा पनि विषयगत शाखामा काम चलाउ मात्रै कर्मचारी रहेका र केही शाखा कर्मचारीविहीन रहेका जनाइएको छ। जिल्लाको मेलौली नगरपालिकामा पनि शिक्षा, कृषि, पशु, घरेलु, महिला तथा बालबालिका शाखा कर्मचारीविहीन रहेका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

जिल्लाको शिवनाथ गाउँपालिकाका पनि विषयगत शाखामा कर्मचारीको अभाव रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए। यस्तै, पञ्चेश्वर गाउँपालिकाका विषयगत शाखा पनि कर्मचारीविहीन रहेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिकाका पनि अधिकांश विषयगत शाखा कर्मचारीविहीन रहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। डिलाशैनी गाउँपालिकाको विषयगत शाखामा पनि कर्मचारीको अभाव रहेको छ।

यस्तै, जिल्लाको पुर्चौंडी नगरपालिकाका अधिकांश विषयगत शाखामा कर्मचारी अभाव रहेको उपप्रमुख जानकी बमले बताइन्। जिल्लाको सिगास गाउँपालिकाका विषयगत शाखामा कर्मचारीको अभाव रहेका छन्। 

स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। साबिकका कार्यालयहरू स्थानीय तहको विषयगत शाखाको रूपमा रहे पनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको स्थानीयको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.