महानगर भन्छ : खाली जग्‍गा नपाएर ढिला भो

|
भूकम्पले चर्किएको राजधानीको एक सामुदायिक विद्‍यालय।

काठमाडौं : भूकम्प गएको चार वर्ष बित्दा पनि काठमाडौं महानगर र नगरपालिकाका सामुदायिक विद्यालयहरू अझै पुनर्निर्माण हुन सकेका छैनन्। नगरपालिकाको  ढिलासुस्ती र आलटालले गर्दा विद्यालय समयमै बन्न नसकेको हो। 

काठमाडौं महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालय रहेकोमा ०७२ सालको भूकम्पले ७८ वटा विद्यालयमा क्षति पुगेको थियो। महानगरपालिकाका अनुसार अहिलेसम्म आठवटा सामुदायिक विद्यालयको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ।  

खाली जग्‍गा नपाएर पुनर्निर्माण ढिला

काठमाडौं महानगरपालिकाका इन्जिनियर सागर पौड्यालले पर्याप्त खाली जग्गा नभएकाले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको बताए।

‘विद्यालय निर्माणका लागि खाली जग्गा नहुँदा स्कुलका संरचनामा निर्माणमा ढिलाइ भएको छ,’उनले भने,‘कुन–कुन ठाउँमा भूकम्पले क्षति पुर्‍याएको स्कुल बनाउने भन्ने बारेमा महानगरमा छलफल भइरहेको छ।’  

उनका अनुसार अहिले कुलेश्वर मावि, दरबार हाइस्कुल, शान्ति विद्यागृह लैनचौर गरी ६ विद्यालयको पुनर्निर्माण कार्य भइरहेको छ।

‘चारवटा विद्यालय पुनर्निर्माणका लागि टेन्डर प्रक्रियामा छ,’पौड्यालले भने, ‘छिट्टै काम थालिन्छ। २० वटा विद्यालय बनाउनका लागि खाली जग्गा पाइएको छैन।’ 
 १८ वटा सामुदायिक विद्यालय पुननिर्माणका लागि डिजाइन प्रक्रियामा रहेको उनले जानकारी दिए। सार्वजनिक जग्गा उपलब्ध नभए अन्य स्कुलसँग मर्ज गरेर स्कुल सञ्चालन गर्ने उनको भनाइ छ।

उनले भने, ‘खाली जग्गा नभएकाले धेरै सामुदायिक विद्यालयहरु निर्माण हुन सकेको छैन। जग्गा समस्याको समाधान नभए निर्माण भइसकेका स्कुलसँग मर्ज गरेर भए पनि विद्यार्थीहरूलाई शिक्षा दिलाउँछौँ।'

गोकर्णेश्वर नगरपालिकामा पनि उही समस्या

त्यस्तैगरी, गोकर्णेश्वर नगरपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। नगरपालिकाका अनुसार ०७२ सालमा गएको भूकम्पले सहयोगी मावि, अरुणदय मावि र रामजानकी मावि गरी तीन  विद्यालयमा क्षति पुर्‍याएको थियो।

अन्य विद्यालय निर्माण सकिए पनि नयाँपाटीमा रहेको रामजानकी मावि स्कुलको पुनर्निर्माण भने अहिलेसम्म पनि हुन सकेको छैन। 

अनुदानले थप समस्या

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले अनुदानले गर्दा समयमा विद्यालय पुनर्निर्माण गर्न नसकेको बताउँछन्। ‘पुनर्निर्माणका लागि समयमै अनुदानको व्यवस्थापन हुन नसक्दा काम ढिलाइ भयो,’ उनले भने,‘रामजानकी मावि स्कुललको काम अन्तिम चरणमा पुगेको छ। छिट्टै मर्मतको काम सकिन्छ।’

उनले सामुदायिक विद्यालय निर्माणमा सधैँ नगरपलिकाले प्राथमिकता दिँदै आएको समेत उनले बताए। उनले भने,‘विद्यालय ज्ञानको मन्दिर हो। शिक्षाको ज्योति छर्नलाई पहिलो संरचनाको आवश्यकता पर्छ। यसमा हामी सचेत छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.