|

दमक : चालु आर्थिक वर्षको शुरुवात गत साउन देखिनै सरकारले लागु गरेको ‘भेइकल एण्ड कलसाइन्मेट ट्रयाकिङ सिस्टम (भिसिटिएस) कार्यान्वयनमा साना तथा मझौला व्यवसायीमा अझै अन्यौलता रहेको छ।

सरकारले अनिवार्य गरेको पाँच महिना भईसक्दासमेत यसको कार्यान्वयन बारेमा दमकका उद्योगी व्यवसायीले सहज महसुस गरेका छैनन्। एक स्थानबाट अर्को स्थानमा व्यावसायिक समान ढुवानी गर्दा उपयोग गर्नुपर्ने प्रणाली ‘भिसिटिएस’ बारे अझै व्यवसायीमा अन्यौल रहेको पाइएको हो।

एकैपटक सरकारले कार्यान्वयनमा ल्याएकाले यसको उपयोग बारेमा व्यवसायीमा अन्यौल देखिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ बताउँछन्। यसको उपयोग, समस्या, समाधानका उपायलगायतका बारेमा संघले विज्ञहरूमार्फत व्यवसायीलाई जानकारी गराउँदै आएको पनि उनले जनाए।

ठूला सहरमा थोकबिक्री पसल तथा भण्डार हुने तर समान गाउँ गाउँमा पुर्‍याएर बिक्री वितरण गर्नुपर्ने वितरकहरूले बढी समस्या महसुस गरेका हुन्। एउटा व्यवसायीले एक सय प्रकारसम्मका समान विभिन्न दूरी र स्थानमा रहेका दर्जनौ व्यवसायीलाई दिनुपर्ने भएकाले भिसिटिएस व्याहारिक नभएको गुनासो गर्ने व्यवसायी नेतृत्वको भनाइ छ।

संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले भने, ‘दमकमा रहेको एउटा वितरकले गाउँ-गाउँमा रहेका दर्जनौँ पसलमा सयौँ प्रकारका समान एकै पटक पुर्‍याउनु पर्छ, यस्तो बेला गन्तव्य स्थान कहाँलाई मान्ने, कति परिमाण कसलाई पठाएको भन्ने जस्ता समस्या रहेको छ।’ व्यवसायीहरूले यो प्रणाली उद्योग र आयातकर्ताहरूका लागि मात्र व्यावहारिक रहेको बताएका छन्।

नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ता औषधिजस्तो संवेदनशील वस्तुको ओसार पसालमा भिसिटिएसको प्रावधानका कारण समस्यासमेत आउन सक्ने बताउँछन्। आपत्तकालीन अवस्थाका लागि चाहिने औषधि तथा औषधिजन्य समानको तुरुन्तै ढुवानी गर्नुपर्ने अवस्थाका लागि लचक व्यवस्थाको आवश्यकता पर्ने उनको भनाइ छ। यस प्रणालीका बारेमा रहेका जिज्ञासा, भ्रम तथा अन्यौलता हटाउन अझै पनि व्यवसायीमा जानकारी तथा प्रशिक्षणको आवश्यकता रहेको उनी बताउँछन्।

मान्नै पर्ने बाध्यता

गत साउनदेखि कार्यान्वयनमा आएर पनि तीन महिना सिक्ने र सिकाउने अवधीको रूपमा छुट दिइएकाले अब यसको कार्यान्वयनमा कुनै पनि बहानाले छुट नहुने सरकारी अधिकारीहरू बताउँछन्। राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत हितेश बस्नेतले भिसिटिएस चालु आर्थिक वर्षको तीन महिना सिक्ने र सिकाउने अवधीका रूपमा लचकताका साथ कार्यान्वयन गरिएको र हाल पूर्णरूपमा कार्यान्वयन गरि रहेको बताए।

सूचना प्रविधिमा सामान्य जानकारी भएको व्यक्तिले पनि यो प्रणालीको उपयोग गर्न सक्ने भएकाले यसलाई अफ्ठ्यारो मान्नुभन्दा क्रमिक रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ। प्रणालीलाई बढी बोझ र झण्झटको रूपमा नलिइ उपयोग गरे कुनै समस्या नहुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.