|

बाँके : जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। 

तथ्याङ्कअनुसार एक हजार १५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन्। यस्तै तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १६० घटना मात्रै सम्बन्धित निकाय अर्थात् स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। 

वार्षिक लाखौँ बजेट खर्चेर पनि लैङ्गिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो। प्रहरीका अनुसार चालू आव २०७६/७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन्। त्यसमा सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका घटना १७६ छन्।

यस्तै आव २०७५/७६ मा भने उजुरीको सङ्ख्या बढेर ७११ पुगेको तथ्याङ्कले देखाएको छ। त्यसमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ५१२ छन्। आव २०७४/७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे। यीमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ३०८ रहेका प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान्–श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटना हुने गरेका छन्। सोमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प्रहरीको भनाइ छ। महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव २०७४/७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन्। आव २०७५/७६ मा  ५६ जना बलात्कारमा परेका थिए भने चालू आवको कात्तिक मसान्तसम्म २१ जना बलात्कृत भएका छन्।

आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले देखाएको छ। त्यसमा २२ बालिका आव २०७५/७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन्।

यस्तै आव २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात पछिल्ला तीन वर्षमा ७७३ महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन्। 

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको प्रहरी उपरीक्षक ओली बताउनुहुन्छ। उनले भने, 'बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ, मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन्।' 

अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकोले पनि घटना धेरै बाहिर आउने गरेका उल्लेख गर्दै उनले भने, 'लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन्, सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन्, केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.