|

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँपालिका अध्यक्षलाई जिप खरिदको लागि बिनियोजित बजेटले १ वर्षअगाडि सर्वसाधारणको लागि यात्रुवाहक बस किन्ने निर्णय गरे पनि अझै किन्न सकेको छैन।

गत आर्थिक वर्ष ०७४ र ०७५ मा गाउँपालिकाले ७५ लाख ७१ हजार बजेट जनप्रतिनिधिको लागि चारपांग्रे सवारी खरिदका लागि विनियोजन गरेको थियो। सो बजेटले सर्वसाधारणका लागि गाईघाट, मुकुर्ची, लिम्चुङबुङ हुँदै हलेसी चल्नेगरी यात्रुबाहक बस सञ्‍चालन गर्ने निर्णय गरेको थियो।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षको यात्राको लागि जिप किन्ने बजेटले पालिकाबासी सर्वसाधारणका लागि सञ्‍चालन गर्ने प्रचार गरिए पनि एक वर्ष बित्न लाग्दा पनि बस सञ्‍चालन हुन नसकेको स्थानीयले गुनासो गरे।

९ महिनाअगाडि गाउँसभा बैठकबाट जनप्रतिनिधिको लागि चारपांग्रे सवारी खरिद गर्ने निर्णय उल्टाउँदै गाउँपालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको बैठकले सर्वसाधारणका चढ्ने बस खरिद गर्ने निर्णय गरेको थियो। 

बस किन्न अझै समय लाग्‍छ : गाउँपालिका

सर्वसाधारणका लागि किन्ने भनिएको बस आउन अझै केही महिना लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए। २०७५ चैत ३ को गाउँसभा बैठकबाट तत्काल सर्वसाधारणका लागि यात्रुबाहक बस खरिद गर्ने भन्दै बजेट विनियोजिन गरेको ९ महिना बितिसक्दासमेत बस ल्‍याउन नसक्दा स्थानीयहरु जनप्रतिनिधिसँग रुष्ट छन्।

गाउँपालिकाले समयमै बस खरिद गरेर भाडादर कायम नगर्दा व्यवसायीहरूले मनपरी भाडा लिएकाले यात्रुहरु थप मर्कामा परेको स्थानीय मेघबहादुर कार्कीले बताए। गाउँपालिकाले बजेट खर्च गर्न नसक्दा गत आर्थिक वर्षको बजेट सञ्चित गरेर यो वर्षलाई राखेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.