तत्कालीन एमाले र माओवादीको लक्ष्मणरेखा यथावत

|

काठमाडौ‌ : सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँट गरी गतसातादेखि आ–आफ्नै काममा लागेका सत्तारूढ (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार बेलुकी बालुवाटारमा एकैसाथ देखिए। प्रचण्ड र प्रधानमन्त्री ओलीले यो भेटमा पार्टी बैठकदेखि सभामुख चयनसम्मका विषयमा छलफल गरेका छन्।

पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले यसबीचमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक राखिसकेका छन्। मंसिर २३ गते बसेको सचिवालय बैठकमार्फत प्रचण्डले वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने भन्दै पार्टीको विधान नै संशोधन गरिदिएका छन्। 

पार्टीको कार्यदिशा नै संशोधन हुनेगरी बसेका बैठकहरूमा उपस्थिति जनाउन नसकेका प्रधानमन्त्री ओलीले प्रचण्डसँग यसबारे पनि कुराकानी गरेका थिए। साथै भोलि (शुक्रबार) र २९ तथा ३० गते बस्ने स्थायी कमिटी बैठकबारे पनि ओली र प्रचण्डबीच छलफल भएको छ।

सभामुख चयनमा रस्साकस्सी

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार आरोपमा मुछिएका कारण जेल गएपछि अहिले नयाँ सभामुख चयन गर्नेबारे सत्तारूढ पार्टीभित्रै रस्साकस्सी चलिरहेको छ। बुधबार बेलुकी दुई अध्यक्षबीचको भेटघाटमा पनि यही विषयले प्राथमिकता पायो।

बालुवाटार स्रोतका अनुसार पार्टीबारे छलफल गर्न भन्दै भेट भए पनि सभामुख चयनमै दुई अध्यक्ष केन्द्रित रहे। ओलीले पूर्वसभामुख एवं पार्टी संसदीय दलका उपनेता सुवा नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्निप्रसाद सापकोटाको नाम अघि सारेका छन्। (नेकपा)भित्र सभामुखमा नेम्वाङ र सापकोटा मात्रै नभई देव गुरुङ, ओनसरी घर्तीमगर र पम्फा भुसालको नामसमेत चर्चामा छ। पार्टी एकतापछि सभामुख तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले प्रचण्डले अहिले पनि सो पदमा पूर्वमाओवादी खेमाको दाबी राखेको बताएका छन् ।

तर, (नेकपा) को शक्ति–सन्तुलनमा अझै हाबी हुने गरेको आरोप खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउन चाहेकी भन्‍ने खबरहरू बाहिरिएका छन्। उपसभामुख तुम्बाहाङ्फेले पनि आफ्नो सभामुखमा आफ्नो दाबी छाडिसकेकी छैनन्। सभामुख चयन निश्चित नभएसम्म आफूले उपसभामुखबाट राजीनामा नदिने अडानमा तुम्बाहाङ्फे अडिग देखिएकी छिन्।

पार्टीभित्रै सभामुख चयन पेचिलो बन्दै गइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्ता अर्थपूर्ण देखिएको छ। स्रोतका अनुसार बाहिर दुवै अध्यक्षहरूले पार्टीमा आ–आफ्नो पूर्वखेमाका नेताहरूलाई सभामुख बनाउनुपर्ने कुरा गरिरहे पनि नेम्वाङकै नाममा लगभग सहमति जनाएका छन्।

पार्टीको कार्यकारी अध्यक्ष पाएपछि सक्रियता बढाएका प्रचण्डले यसअघि बसेको बैठक अघि पनि सचिवालय सदस्यहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि यसअघि प्रचण्डकै अध्यक्षतामा सचिवालयको दुईवटा बैठक बसिसकेको छ। भोलि बस्ने बैठकमा भने प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुख पद आफ्नो भएको दाबी गरिरहेको छ। आज  कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ। बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचन, भ्रातृ संघ–संस्था, भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा र सभामुख चयनबारे छलफल हुँदैछ।

संसदका सभामुख र उपसभामुख फरक–फरक पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेसले सभामुख पद आफ्नो भागमा हुनुपर्ने बताइरहेको छ, तर सत्तारूढ (नेकपा) ले भने सत्ता साझेदार साना दलहरूलाई उपसभामुख दिएर सभामुख पद आफैं राख्‍ने तयारी गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.