मातृभाषा समाप्त गर्ने औजार तयार भएको भाषाविज्ञको टिप्पणी

|

पाँचथर : स्थानीय तहहरुले अंग्रेजी माध्यममा पठनपाठनलाई अभियानकै रुपमा सञ्चालन थालेका छन्। एकातिर विद्यार्थी संख्या कम हुँदै गएको र शैक्षिक गुणस्तर पनि खस्किँदै गएका बेला अंग्रेजी माध्यममा पठनपाठनलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा ‘छु मन्तर’ नै हुने स्थानीय तहहरुले ठानेका छन्।

अंग्रेजी माध्यममा पठनपाठन भन्ने बित्तिकै संस्थागत विद्यालयबाट पनि विद्यार्थीहरु ह्वारह्वार्ती आउने हुँदा विद्यालयको गिर्दो साख उक्सिने विद्यालयहरुको अपेक्षा छ। केही विद्यालयमा भने पठनपाठनमा सुधार भई शैक्षिक गुणस्तर बढेको पनि देखिन्छ। तुम्बेवा गाउँपालिकामा २, फिदिम नगरपालिकामा ६ र कुम्मायक गाउँपालिकाम १५ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ।

हिलिहाङ गाउँपालिकाका शिक्षा शाखामा कार्यरत लोकनाथ भट्टराईले २० वटाभन्दा बढी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको जानकारी दिए। गाउँपालिकाले गाउँपालिका क्षेत्रको ४४ वटै विद्यालयमा क्रमशः अंग्रेजी माध्यममा पठनपाठन गर्ने योजना बनाएको भट्टराईले बताए। 

फालेलुङ, याङ्वरक र फाल्गुनन्द गाउँपालिकाका केही विद्यालयहरुमा केही वर्ष यता अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ। मिक्लाजुङ गाउँपालिकाको दुर्गा मावि र सिंहदेवी माविलगायत केही विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तीर्थराज मिश्रले बताए।

विद्यालयमा जनशक्ति र आवश्यकताअनुसार धमाधम अंग्रेजी माध्यममा पठनपाठनलाई विस्तार गर्ने स्थानीय तहहरुको तयारी छ। माध्यमिक तह (कक्षा १–१२) सम्मको  शिक्षाको व्यवस्थापन गर्ने सम्पूर्ण अधिकार संविधानतः स्थानीय सरकारलाई छ। सामुदायिक विद्यालयको गिरेको शैक्षिक गुणस्तर सुधार्न अंग्रेजी माध्यममा पठनपाठनलाई स्थानीय सरकारले रोजेको देखिन्छ। 

तुम्बेवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले अंग्रेजी माध्यममा पठनपाठन थालिएको इन्द्रेणी मावि, मौवामा शैक्षिक गुणस्तरमा सुधार भएको दावी गरे। वडा नम्बर १ आङ्नाको थेपाङमा रहेको कलेश्वरी आधारभूत विद्यालयको पनि यस वर्ष अंग्रेजी माध्यममा पठनपाठनको नजिता हेरिने उनले बताए। इन्द्रेणी माविमा अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि भने नजिकैको संस्थागत विद्यालयबाट पनि विद्यार्थी आउन थालेको र राम्रो अंग्रेजी माध्यममा पठनपाठन सामुदायिक विद्यालयमा भए संस्थागत विद्यालय आवश्यक नहुने अवस्था देखिएको गौतमले बताए। कुम्मायक गाउँपालिकाका शिक्षा अधिकृत एगेन्द्रबहादुर खड्काले अंग्रेजी माध्यममा पठनपाठन भएका विद्यालयका कतिपय बालबालिकाले अंग्रेजी भाषाबाटै नाटक मञ्चन गर्ने, बोलीचाली गर्न थालेको बताए। उनले विद्यार्थीहरु पनि अंग्रेजी माध्यममा पठनपाठन भएको विद्यालयमा ५० जनाभन्दा बढी रहेको दाबी गरे। 

सामुदायिक विद्यालयको अंग्रेजीलाई अभिभावकले पत्याएनन्

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको मुख्य उद्देश्य संस्थागत विद्यालयको विद्यार्थी खोस्नु हो। भर्ना शुल्कदेखि मासिक शुल्क केही तिर्न नपर्ने, पाठ्यपुस्तक पनि निःशुल्क पाउने र अंग्रेजी माध्यममा पढाइने पनि हुँदा कतिपय अभिभावकले संस्थागत विद्यालयबाट निकालेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।

तर, फिदिम नगरपालिकाको ६ वटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराएकोमा फिदिम माविबाहेक अन्य विद्यालयहरुमा विद्यार्थी संख्या फेरि घटेको छ। अंग्रेजी माध्यममा पठनपाठन भन्ने बित्तिकै अभिभावकले संस्थागत विद्यालयबाट आफ्ना बालबालिकालाई निकालेर सामुदायिक विद्यालयमा भर्ना गरे पनि केही वर्षमै पुनः संस्थागत (निजी) विद्यालयमा भर्ना गराएको पाइएको छ।

फिदिम नगरपालिकामा यसअघि शिक्षा शाखा प्रमुखको रुपमा रहेका गजाधर ढुंगानाले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि सामुदायिक विद्यालयमा नगरका कुल विद्यार्थीमध्ये ७८ प्रतिशत भर्ना भएको र २२ प्रतिशत संस्थागत विद्यालयमा भर्ना भएकोमा हाल भने पुनः सामुदायिक विद्यालयमा ७५ प्रतिशत र संस्थागत विद्यालयमा २५ प्रतिशत विद्यार्थी भर्ना भएको तथ्याङ्क रहेको बताए। यसलाई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा गरिने पठनपाठनप्रति अभिभावकको अविश्वासको रुपमा उनले विश्लेषण गरे।

मिक्लाजुङका शिक्षा शाखा प्रमुख तीर्थराज मिश्रले दुर्गा माविमा कक्षा १ देखि ३ र ९ देखि १० कक्षासम्म पठनपाठन भएकोमा हम्मेहम्मेको स्थिति रहेको बताए। पुराना शिक्षकहरुबाट अंग्रेजी माध्यमको पठनपाठनमा सहजता नरहेको उनको बुझाइ छ। यता कुम्मायकका शिक्षा शाखा अधिकृत एगेन्द्रबहादुर खड्काले भने सामुदायिक विद्यालयका शिक्षकहरु अल्छी भएको बताउँछन्। कतिपय विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा ढर्रा मात्रै पनि भएको छ।

अंग्रेजी भाषामा शिक्षा मातृभाषा समाप्त गर्ने औजार

मातृभाषामा शिक्षाको वकालत गर्दै आएका भाषाविज्ञ डा. कर्णाखर खतिवडाका अनुसार मातृभाषामा प्रारम्भिक शिक्षा दिएको अवस्थामा सहज ढंगले वालवालिकाको संज्ञानात्मक विकास हुन्छ। उनले मातृभाषालाई दिमागको अभ्यास गर्ने भाषा पनि भनेका छन्। पाँचथरका विद्यालयहरुमा थालनी गरिएको अंग्रेजी भाषाका पठनपाठनलाई उनले मातृभाषा समाप्त गर्ने एउटा औजार भन्दै कडा टिप्पणी गरे।

‘अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको त मातृभाषा समाप्त गर्ने एउटा औजार तयार गरेको हो नि। किनभने बच्चाले आफ्नो मातृभाषा सिक्ने अवसर कहिले पाउने? अढाई तीन वर्षपछि स्कुल पठाइन्छ,’ उनले भने, ‘नेपाली भाषा नभए पनि मातृभाषा त हुनुपर्ने हो। त्यो पनि छैन। आम रुपमा त्यो खालको भइरहेको छ।’

हुनतः अंग्रेजी माध्यमको शिक्षा अभिभावकको चाहना पनि हो। अंग्रेजी भाषामा दक्षता हासिल गरे बाँच्न गाह्रो छैन भन्ने मानसिकता विकास भएको छ। यसले गर्दा मातृभाषामा शिक्षाप्रति अभिभावकको खासै चासो छैन। यस्तै स्थिति मातृभाषा संकटमा मात्रै नपरी मर्ने डा. खतिवडाको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.