|

डोल्पा : हिमपातका कारण डोल्पाका विद्यालयहरुमा वार्षिक परीक्षा स्थगित भएको छ। ठूलीभेरी नगरपालिकाका एक आधारभुत र चार माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगित भएको हो।

शुक्रबार बिहानैदेखि लगातार भइरहेको हिमपातसँगै बढेको अत्याधिक चिसोका कारण थरगाउँस्थित लक्ष्मी मावि, माझफालस्थित विद्यामन्दिर मावि,दुनैको सरस्वती मावि, जुफालको आदर्श मावि र शुभकामना आधारभुत विद्यालयको नेपाली विषयको परीक्षा स्थिगत भएको ठूलीभेरी नगरपालिका कार्यालयले जनाएको छ।

हिमपातका कारण नगरपालिकाभित्र पर्ने केही विद्यालयहरुमा परीक्षानै स्थगित गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षा समेत स्थगित गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । सबै विद्यालयको प्रश्नपत्र एउटै भएकाले केहीमा परीक्षा सञ्चालन गर्ने र केहीमा स्थगित गर्नु प्राविधिक समस्या रहेको बताइएको छ। स्थगित परीक्षा मौसममा सुधार आएपछि सञ्चालन गरिने प्रमुख रोकायले बताए।

भारी हिमपात भएकाले टाढाटाढाका गाउँबाट विद्यार्थीहरु विद्यालयसम्म पुग्ने अवस्था छैन। ‘विद्यालय परिसरमा बाक्लो हिउँ जमेको छ, हिमपात जारी छ,’ थरगाउँस्थित लक्ष्मी माविका शिक्षक हरिस जोशीले भने, ‘अत्याधिक चिसोका कारण विद्यार्थीहरु विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीहरुले पनि लेख्न सक्ने अवस्था छैन।’

ठूलीभेरी नगरपालिकाका विद्यालयमा बिहीबारदेखि वार्षिक परीक्षा सुरु भएको हो। पुस र माघमा भारी हिमपातहुने भएकाले यस क्षेत्रमा छिटो वार्षिक परीक्षा गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.