|
फाइल फोटो

पर्सा : बुधबार बेलुकी नेपाल पसेको पश्चिमी वायुले मौसम बदली गराएपछि मध्यतराईमा शीतलहर शुरु भएको छ। 

समयअगावै एक्कासि चिसो बढेर शीतलहर लागेपछि जनजीवन प्रभावित भएको छ। अघिल्लो वर्ष पुस पाँच गतेदेखि सुरु भए पनि यसपटक मंसिर अन्तिम हप्तादेखि नै शीतलहर शुरु भएको हो। 

मध्यतराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाहरुमा बिहीबारदेखि नै घाम लागेको छैन। शीतलहरका कारण ओस खसिरहेको छ भने केही स्थानमा पानीसमेत परेको छ।

यस क्षेत्रको प्रमुख नगर वीरगञ्जका पसलहरु ढिला गरी खुलेका छन्। बिहानको समयमा घरबाहिर मानिसहरुको गतिविधी खासै देखिएको छैन। प्रभातीय अभ्यासका क्रममा खचाखच मानिस भरिने नारायणी रंगशला र स्थानीय चौरहरु खाली हुन थालेका छन्। 

पर्साको पकाहामैनपुर गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल चौरसियाले बिहानैदेखि कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण पशु–चौपाया र विपन्न मानिस प्रभावित हुन थालेको  जानकारी दिए। गाउँपालिकाले चिसोबाट बच्न र खानपानमा ध्यान दिन स्थानीयलाई सचेत गराईरहेको छ।

चिकित्सकहरुले चिसोबाट बच्नका लागि न्यायो कपडा लगाउन, आगो ताप्न, झोलिलो तातो खाना खान र समस्या बढ्दै गए स्वास्थ्यसंस्था जान सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.