कार्यव्यस्तता देखाउँदै सारियो सचिवालय बैठक

|

काठमाडौँः  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई गुटले नराम्ररी गाँजिरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अवस्था पनि त्यो भन्दा फरक छैन। नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि झनै गुट-उपगुटको राजनीति बढ्दै गएको छ। प्रतिनिधि सभाको सभामुख चयनको मुद्दाले नेकपाभित्रको गुटउपगुटको समस्या सतहमा आएको छ। 

गुटगत गतिविधिकै कारण नेकपाभित्र सभामुख चयनको विषय झन् झन् पेचिलो बन्दै गएको छ। दुई अध्यक्षसहितको नेकपाका नेताहरूले आफ्नो गुटनिकटलाई सभामुख बनाउनैपर्ने अडान राखेपछि सभामुख चयनको टुंगो लाग्न सकेको छैन। 

एकतापछि पनि पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको भन्‍ने तुष नहटेका कारण सभामुख चयनको विषय टुंगोमा पुग्‍न नसकेको हो। पार्टी एकतापछि नेकपाको पूर्वएमालेबाट केपी शर्मा ओली र माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड दुवैले अध्यक्षको भूमिमा निर्वाह गरिरहेका छन्।

एकतापछि अध्यक्ष र सरकार दुवैको जिम्मेवारी बाँडफाँटमा प्रचण्डमाथि ओली हाबी भए। ओलीले पार्टी र सरकार दुवैको नेतृत्व गरे। एकतापछि कार्यविभाजनमा असन्तु‍ष्टि जनाइरहेका प्रचण्डले केही साताअघिको कार्यविभाजनपछि मात्रै पार्टीको कार्यकारी अधिकार पाए। 

ओलीले सरकार र प्रचण्डले पार्टीको नेतृत्व गर्नेगरी कार्यविभाजन भयो। प्रचण्डले पार्टीको कार्यकारी अधिकार पाएलगत्तै आफ्नो सक्रियतालाई दोब्बर बनाएका छन्। प्रचण्डले अध्यक्षको अधिकार पाएसँगै पार्टीभित्रको गतिविधि बढाउने रणनीतिमा लागेका छन्। 

नेकपाभित्र गुट उपगुट

ठूलो राजनीतिक दलमा गुट देखिनु सामान्य मानिन्छ। तर, दुई ठूला पार्टी एकतापछि पनि पुराना पार्टीको गुटलेसमेत निरन्तरता पाइरहेका छन्। पार्टी एकतापछि पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि आफ्नै गुटमा दरिलो बनाउन सक्रिय छन्।

महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, शंकर पोखरेल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटालगायत नेता ओली गुटमा सक्रिय छन्। 

यस्तै, अर्का अध्यक्ष प्रचण्ड पनि आफ्नो गुटमा नेता तान्‍ने ध्याउन्‍नमा देखिन्छन्। उनलाई पनि पूर्वमाओवादी केन्द्रकै नेताहरूले साथ दिएका छन्। प्रचण्डलाई स्थायी समिति सदस्य अग्‍निप्रसाद सापकोटा, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्‍नेत लगायतका नेताले साथ दिएका छन्। 

तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपाल अलग छन्। उनी पनि ओलीसँग असन्तु‍ष्ट छन्। पूर्वएमालेकै नेता नेपालपछि वादेवम गौतम पनि शक्तिको खोजीमा छन्। उनी पनि ओलीसँग सन्‍तुष्ट छैनन्।

गौतमलाई आफ्नो लयमा ल्याउनका लागि पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाउने तयारीमा छन् ओली। तत्कालीन माओवादी केन्द्रभित्रका नेताहरू पनि पार्टीभित्र आफ्नै शक्ति र आफ्नै गुट दरिलो बनाउने संयन्त्रतिर केन्द्रित भएका छन्। 

फुकेन सभामुखको गाँठो

पार्टीभित्र गुट सक्रिय हुँदा चर्चामा रहेको सभामुख चयनको गाँठो अझै फुक्न सकेको छैन। प्रधानमन्त्री ओली पूर्वसभामुख एवम् पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउने कसरतमा छन्। यस्तै, पार्टी अध्यक्ष प्रचण्डले अग्‍निप्रसाद सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राखेका छन्। 

नेम्वाङ र सापकोटा मात्रै नभई सभामुखका लागि देव गुरुङ, ओनसरी घर्तीमगर र पम्फा भुसालको नामसमेत चर्चामा छ। तर, नेकपाभित्र ठूलो शक्ति अझै हाबी हुने गरेको छ। सभामुख चयनको विषयमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासोको दृष्टिले हेरेको उनीनिकट स्रोतको भनाइ छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुखमा निरन्तरता दिनुपर्ने अडान राखेकी छिन्। ओली-प्रचण्डको आग्रहलाई अस्वीकार गर्नुमा उपसभामुख तुम्बाहाङ्फेलाई राष्ट्रपति भण्डारीको आड रहेको बताइन्छ। उपसभामुखले आफ्नो दाबी छाडेकी छैनन्। उनलाई मन्त्री बनाएर उपसभामुख अर्को दललाई दिने तयारीमा नेताहरु छन्। 

राष्ट्रपति भण्डारीको सक्रियतामा उपसभामुखको अडान दरिलो बन्दै गएपछि अनुभवका आधारमा पूर्वसभामुख नेम्वाङलाई सभामुख बनाउन दुई नेता सहमतिनजिक पुगेको उनीनिकट स्रोतको भनाइ छ। 

एमाले–माओवादीको तुष कायमै 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको लामो समय बितिक्दासमेत एमाले माओवादीको तुष कायमै छ। उच्त तहका नेता कार्यकर्तादेखि तल्लो तहसम्ममा एमाले र माओवादी छुट्टै भन्‍ने मानसिकता अझै हट्न सकेको छैन।

पार्टी एकता भएपछि पार्टीगत विभेद गर्न नहुने संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बताउँछन्। ‘दुई ठूला पार्टी एक भयौँ, अब यो पार्टी र त्यो पार्टी भन्ने मानसिकता हटाउनुपर्छ’ उनले भने, ‘जनस्तरमा केही समस्या भएको देखिन्छ। तर, अब विस्तारै जनताबाट पनि त्यो मानसिकता हटिसकेको छ।’    

नेकपाका नेताहरूले तत्कालीन पूर्वएमाले र पूर्वमाओवादीबीचको छुट्टै पार्टी नभएर अब एउटै भएको भनाइ राखे पनि सभामुख चयनको विषयमा सबैभन्दा सकसको विषय यहीँ केन्द्रित भएको छ। 

विभाजनको क्रममा सभामुख तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले सभामुख आफ्नो भागमा परेको दाबी गरिहरेको छन्।

पार्टी एकतापछिको यत्रो समय बितिसक्दासमेत एमाले र माओवादीबीचको तुक कायमै भएकै कारणले सभामुख चयनको गाँठो कसिलो बन्दै गएको हो। माथिल्लो तहका नेतादेखि कार्यकर्तासम्म एमाले र माओवादी भन्ने मानसिकता हट्न सकेको छैन। 

कार्यव्यस्तता देखाउँदै सारियो बैठक

नेकपाले आज (शुक्रबार) डाकेको सचिवालय बैठक भोलि (शनिबार)लाई सारेको छ। उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा एकीकरणका बाँकी  काम लगायतको कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको थियो।  

नेताहरूको कार्यव्यस्तताको कारण आज बस्‍ने भनिएको बैठक भोलिलाई सारिएको नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा मंसिर २९ र ३० गते हुने स्थायी कमिटीको बैठकका एजेण्डाहरूको विषयमा पनि छलफल हुनेछ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा र आगामी कार्ययोजना तयार गर्न व्यस्त रहेको कारणले सचिवालयको बैठक स्थगित गरिएको बताइएको छ।

तर, नेकपाभित्र चर्चामा रहेको सभामुखको विषयमा टुंगोमा पुर्‍याउन नसक्दा बैठक बस्न नसकेको स्रोतको भनाइ छ। स्रोतले भन्‍यो, 'पार्टीभित्र आन्तरिक किचलो र सभामुखको सकसले पार्टीको सचिवालय बैठक बस्‍न नसकेको हो।'  स्रोतका अनुसार भोलि शनिबार बस्‍ने सचिवालयको बैठकले सभामुखको टुंगो लगाउनेछ। 

बुधबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमै पुगेर सभामुख चयनको विषयमा छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.