|

‘अहिले जस्तो गर्मी भएको कहिलै थाहा भएन!’ गर्मी बढेपछि गाउँमा सबैभन्दा बढी सुनिने शब्द हो यो। गर्मीले बाको रेडियोका सेलबाट सेतो फिँज फ्यात्त बाहिर निक्लिन थाल्थ्यो। गर्मीमा बालाई हाम्रोभन्दा पानासोनिक रेडियोको सेलको चिन्ता हुन्थ्यो। बाले रेडियोबाहेक सबैको चिन्ता गर्न छोडिसक्नुभएको थियो।

दिनभरि थाकेको आमाको शरीर शान्त रुपले आराम चाहन्थ्यो। तर बाको रेडियोले आमाको चाहनामा छिर्के हान्थ्यो। एक रात दुई रात भए पो सहनु! आमालाई पूरा जीवन यसरी जाला कि भन्ने डर लाग्न थालेको हुँदो हो। बाआमाको  रातको झगडाको बिउ नै रेडियो हुन थाल्यो। आमाले कतिचोटी त्यो रेडियो भुइँमा पछार्छथिन्।  बा पनि कम थिएनन्‚ रिसले आमाको शरीरमा हातखुट्टा बजार्थे। म रमिते बन्थें।

नेशनल पानासोनिक रेडियो बाले अलमोडाबाट किनेर ल्याएका थिए। कमाउन गएका बा छ महिनापछि साथमा रेडियो लिएर आइपुगेका थिए। पैसा आएन। आमाको जीवनमा सौता बनेर आएको थियो रेडियो।

गाउँमा प्रत्यक घरका दलानमा रेडियो झुन्डिए। रेडियोले समाचार मात्र भनेन। गाउँमा रेडियोका अनेक समाचार पनि बने। यो गाउँमा ‘रामेश्वरले अंग्रेजी समाचार सुन्छ’ भन्ने सबैभन्दा ठूलो  समाचार बन्यो। अंग्रेजी समाचार सुनेको देखेर गाउँका धेरै मान्छे उसको रिस गर्थे। तर‚ रामेश्वर दाइको अंग्रेजीको खिल्ली कसैले गर्न सकेनन्। अंग्रेजी गाउँ समाजभन्दा बाहिरको कुरो थियो।

गाउँले  रिस गर्दै  भन्थे,  ‘भिमेश्वर थारुको सबै सम्पत्तिले रामेश्वरलाई यही अंग्रेजी समाचार सुन्ने बनायो।’  यो गाउँमा दाइ जत्तिको मान्छे कोही पनि थिएन। दाइ एकदम भालद्‍मी देखिन्थे। उनको हरेक शब्दको अर्थ हुन्थ्यो। उनको बहसको कुनै निचोड हुन्थ्यो। यो गाउँको मान्छेले कुरो काटेर सानो भन्ने खालका कुनै हालतमा थिएनन्, रामेश्वर दाइ।

भिमेश्वर थारु, रामेश्वर दाइको बुवाको नाम। भिमेश्वर थारु यो गाउँको ठूला जमिदार थिए। भिमेश्वरलाई पनि छोरो पढोस् भन्ने रहर थियो। रामेश्वरले पढेकोमा उनी खुसी थिए। उनले रामेश्वर दाइले विहे गरिदियोस् भन्ने सोचेका थिए। तर‚ रामेश्वर दाइले अहिलेसम्म पनि विहे गरेका थिएनन्। रामेश्वर दाइ त्यति पढेर पनि कहिलै केही काम गरेनन्। उनलाई दिनभरि चोकको चिया पसलमा बसेर गफ गर्न र विहान–साँझ अंग्रेजी समाचार सुन्न पाए पुग्थ्यो।

अंग्रेजी समाचार सुन्न थालेपछि यो गाउँमा रामेश्वर दाइको इज्जत तेलपानीको पहाड जस्तो अग्लो भयो। उनले विछियाबाट किनेर ल्याएको मोटो चश्मा लगाउन थालेका थिए। म रामेश्वर दाइको अंग्रेजी समाचार सुन्ने बानीको ठूलो फ्यान भएँ। मलाई लाग्थ्यो, मैले बाको रेडियोमा अंग्रेजी समाचार सुन्न सकेको भए, बाको रेडियो मेरो हुन्थ्यो। जसले जे भने पनि रामेश्वर दाइ जतिको मान्छे यो गाउँमा कोही थिएनन्।

आमाले रेडियोतिर फुटेका आँखाले पनि हेर्थिनन्। भावनात्मक कुरो गर्ने रेडियोले आफ्नो भावना बुझेन भन्ने आमालाइ लाग्थ्यो। आमाको निन्द्रामा आउने भुतजस्तै भयो रेडियो। लात्ती हानेर आँगनमा फाल्नुपर्ने रेडियोलाई थियो। तर बाले आमालाई फाल्छन् जस्तो गरे। त्योभन्दा अगाडि आमा केही नबोली दलिनमा आएर सुत्न थालिन्। आमा सुत्ने ठाउँमा रेडियो सुत्न थालेपछि  बा-आमाको विस्तारा अलग्गै हुनु स्वभाविक नै थियो।

बालाई रेडियो सुन्ने लत बस्यो। रेडियो नसुनी निदाउन नसक्ने। मलाई पनि बाको कोठाको रेडियोको मधुरो आवाजले तान्न थालेको थियो।

घरमा नुन तेल होइन, रेडियोका सेल आउन थाले। जाडो दिनमा बाले बार्दलीमा सेल सुकाएर राख्थे। बा गाउँ गएको बेला आमाले जानी जानी रेडियोका सेल भुइँमा फाल्थिन्। दिनभरि सेल सुक्न पाउँथेन। साँझ बा झर्किंदै सोध्थे।

'बार्दलीमा सुकाको सेल कस्ले भुइँमा फाल्यो?' सेलको पावर नपुगेर मधुरो बजेको रेडियो बटारर्दै बाले आमालाई प्रश्न गर्थे।

'अरु काम केही छैन,धान सुकाउन हालेको थिएँ चराले लडाए होलान्' आमाले प्रसन्न स्वरमा भन्थिन्। आमालाई बाको रेडियोसँग एकछिन भए पनि रिस फेरेजस्तो हुन्थ्यो। आमाको अनुहार प्रसन्न देखिन्थ्यो। उनलाई लाग्दो हो आज त मजाले सुत्न पाइने भयो। यसरी आमाले धेरै दिन रेडियो बन्द गर्न खोजिन्। तर सफल भइनन्।

साँझमा रेडियो नेपालबाहेक अर्को रेडियो बज्न सुरु भयो। माओवादीको डोको रेडियो। जसलाई जनवादी रेडियो भनिन्थो। जनवादी रेडियो गाउँमा बाको नेशनल पानासोनिक रेडियोबाहेक अरु कसैको रेडियोमा बजेन।

रने काका, विष्णु बाजे, रामेश्वर दाइदेखि गाउँका धेरै मान्छे साँझ पख बाको नेशनल पानसोनिक रेडियोमा जनवादी रेडियो सुन्न भेला हुन थाले।

'दाइले रेडियो त गज्जब किनेका रहेछन्। दाइको रेडियोले बाहेक गाउँमा कसैको रेडियोले जनवादी रेडियो स्टेशन टिप्दैन‚' बाको रेडियोको प्रसंसा गर्दै रने काकाले भन्थे।

 विष्णु बाजे र रामेश्वर दाइले हो मा हो थप्थे।

आफ्नो रेडियोको प्रसंसा सुनेपछि बाले आमातिर हेर्दे आफ्नो शिरका टोपी मिलाउँदै थोरै हाँस्थे। आमा बालाई आँखा तर्दै भित्र पस्थिन्।

बाको नेशनल पानासोनिक रेडियोमा जनवादी रेडियो बज्न थालेपछि रामेश्वर दाइको अंग्रेजी समाचार सुन्ने हल्ला हावामा बिलायो। जनवादी रेडियो कहाँबाट बज्थ्यो कसैलार्ई थाहा थिएन। रेडियो साँझ सात बजेदेखि राति नौ बजेसम्म दुई घण्टा बज्थ्यो। जनवादी रेडियो सुन्न थालेपछि रेडियो नेपालमाथि शंका गर्न थाले। युद्धमा मारिएका मान्छेको विवरण रेडियो नेपालले एउटा भन्थ्यो  र जनवादी रेडियोले एउटा भन्थ्यो। अब कसको कुरो पत्याउने? समाचारजस्तै गाउँमा सत्यता पनि बाँडियो।

'रेडियो नेपाल सरकारको रेडियो हो। झुट त यसले कसरी बोल्यो होला? जुन रेडियो कहाँबाट बज्छ केही थाहा छैन त्यसको कुरो कसरी पत्याउने? यसले मान्छेलाई मति बिगार्ने मात्र कुरो भन्दो रहेछ। विष्णु बाजेले आफ्नो तर्क राख्थे। रने काका पनि विष्णु बाजेको कुरोमा सही थप्थे।

'विष्णु बाजे जे भन्नुस्, जनवादी रेडियोमा दम छ है। रेडियो नेपालका सबै कुरा सत्य नहुन पनि सक्छन नि!'  रामेश्वर दाइले भने।

 बा र रामेश्वर दाइको कुरोले विष्णु बाजे हाम्रोतिर आउन छाडे। बालाई र रामेश्वर दाइलाई जनवादी रेडियो सुन्ने लत लाग्यो। साँझ पर्‍यो कि रामश्वर दाइ आँगनमा झुल्किहाल्थे।

रामेश्वर दाइ गाउँबाट एकाएक हराए। गाउँमा खैलाबैला भयो। कता गयो रामेश्वर थारु भनेर मान्छेहरु शंका व्यक्त गर्न थाले। दश दिनपछि रामेश्वर दाइ नयाँ पानासोनिक रेडियो बोकेर गाउँमा देखिए। पानासोनिक रेडियो किन्न दिल्ली गएका रहेछन्। रामेश्वर दाइको रेडियो सुन्न सबै झुम्मिए। बाकोभन्दा ठूलो रेडियो रहेछ। रेडियो माथि तिर सेतो रगंले अंग्रेजी अक्षरमा लेखेको थियो 'नेशनल पानासोनिक'। तीन सेले रेडियो रहेछ। यो रेडियोले त झन् प्रष्ट सुनिन थाल्यो जनवादी रेडियो। हाम्रो घरमा रेडियो बज्न कम भयो। रेडियो कम बज्न थालेपछि आमाको अनुहारमा खुसी देखिन थालेको थियो।

बाले रेडियो नेपालबाट बज्ने ‘घटना र विचार’ आफ्नै रेडियो सुन्थे। 'मति बिग्रन्छ है केटा हो, धेरै नसुन जनवादी रेडियो।' एकदिन विष्णु बाजेले रामेश्वर दाइलाई र बालाई जिस्काउँदै भने।

'काका सरकारको मति पनि कहाँ ठिक छ र' रामेश्वर दाइले पनि जिस्किंदै बोल्थे। बाको अनुहार उज्यालो हुन्थ्यो। विष्णु बाजे खिस्क्रिक पर्थे। उनी केही नबोली घरतिर लाग्थे। 

'अब संसारको हरेक चिजसँग मान्छे नजिक हुन्छ। विश्वको हरेक चिजसँग मान्छे जोडिने भएको छ। अब कसैको हक र अधिकार गुम्राह गरेर कोही अगाडि बढ्न सक्दैन। यो देश सबैको हो भन्ने कुरो सरकारले बुझ्न पर्छ' रामेश्वर दाइले बालाई सबै कुरा सम्झाउँथे। आजभोलि उनका ओठमा एकदम काला देखिन थालेका थिए। उनले सायद चुरोट खान थालेछन् जस्तो छ। उनको शरीर पारि वनमा खयर सुके जसरी सुकेको थियो। तर‚ रामेश्वर दाइको आवाजको दम घटेको थिएन।

बाले उनको कुरा सुनेर टाउको हल्लाए। बाको अनुहारले त उनले पनि  टाउको मात्र हल्लाएका हुन् कि जस्तो लाग्थ्यो।  रामेश्वर दाइ आजभोलि निकै रिसाउन थालेका थिए। विष्णु बाजेले भने जस्तो उनको मति ठिक ठाउँमा थिएन।

रेडियो नेपाल र जनवादी रेडियोले आफ्नो आफ्नो जितको गाथा मात्र गाउन थाले। दुवै रेडियोले मरेका मान्छे र घाइतेको विवरण फरक फरक दिन थाले। गाउँमा विश्वास पनि बाँडिन थाल्यो ।

बालाई आपत पर्न थाल्यो। रामेश्वर दाइको कुरा बालाई बढी लाग्न थालेको थियो। मान्छेको सुन्ने धैर्यता हराइसकेको थियो। बाले फेरि आफ्नै दुई सेल पानासोनिक रेडियोमा समाचार सुन्न थाले। बाले सद्दरीको पकेटबाट नयाँ सेल तानेर हाले। रेडियो फेरि उही सुरमा बज्न थाल्यो। साँझमा उही 'घटना र विचार' बज्न थाल्यो। अर्थात, बाले रेडियो नेपाल सुन्न थाले। बाको बद्लिएको स्वभाव देख्दा अनौठो लाग्यो। बाले जनवादी रेडियो सुन्ने छोडेपछि रामेश्वर दाई हाम्रो घरमा आउन पनि छाडे।

गाउँमा बिजुली बत्ती आयो। गाउँ मात्र होइन मान्छेका अनुहार पनि उज्याला देखिन थाले। बत्ती किस्सा पनि जन्मिए।

'धर्मे कि आमाले त बिजुलीको बत्तीलाई पनि फुउउउउउ गरेर मार्न खोजिन् अरे।' यस्ता किस्सा हाल्दै एकले अर्कालाई उडाउन थाले।

बिजुलीले गाउँलार्ई अर्को चकित पार्‍यो। बिजुली बाट चल्ने रेडियो गाउँमा देखियो। बिनासेल चल्ने रेडियो। बिनासेल चल्ने रेडियो पहिलोचोटी जिउडाँडे जेठाले ल्याए। बाको र रामेश्वर दाइको रेडियो गाउँमा बा र रामेश्वर दाइको मानको मिटर ह्वात्तै घट्यो। जिउडाँडे जेठो बढेर मान मिटर बढ्यो।

गाउँमा आर्मी देखिए। ओहो! किन आयो आर्मी ? मान्छे यसै डराए। आर्मी कही नभएर हाम्रै घरमा आए। बालाई सोधे।

'तपाईको नाम शेरबहादुर थापा हो?' एउटा आर्मीले बालाई सोध्यो।

बाले अँ भनेर टाउको हल्लाए।

'तपाईसँग सोधपुछ छ व्यारेक हिँड्नुस्।' बाले किन भनेर प्रश्न पनि गर्न सकेनन्। प्रश्न गरे बामाथि बुट पर्न सक्थ्यो। गाउँमा धेरै मान्छेले सरकारी र विद्रोही बुट खाइसकेका थिए। त्यसैले जसले बोलाए पनि चुपचाप जानु पर्थ्यो।

'अनि तपाईको रेडियो पनि लिएर हिँड्नुस् है।' आर्मीले बालाई भन्यो। आमाका आँखमा आँसु देखिए। आमा जोडले रुन पनि सक्नुभएन। म शून्यतामा हराएँ।

आमा र मतिर पुलुक्क हेरे। ‘छिट्टै आउँछु’ भनेर बाका आँखाले भनेको थिए। आँखाले पनि बोल्न सक्दो रहेछ भनेर पहिलो पल्ट थाहा पाएँ।  बा आर्मिको पछि लागे। 

आर्मीले बासँगै रामेश्वर दाइलाई पनि लगेको रहेछ। बाको र रामेश्वर दाइ दुवैको रेडियो पनि लगेछ। बा गएदेखि भान्सामा आगो बलेन। म भात खान पल्लो घर जान थालेँ। आमा के खान्थिन् थाहै भएन। हरेस् चाहिँ खाइनन्। किनभने बा आउने दोबाटोमा आमाले आँखा बिछ्याउथिन्।

यिनको ठाँडोले केही उपर्दो त गर्छ भनेकी थेँ नि। नगर है, नगर भन्दा सुने पो। आमा रेडियो र बालाई सम्झीसम्झी गाली गर्थिन्। झोक मर्थ्यो फेरि चुपचाप टोलाइरहन्थिन्। वरपरका छरछिमेकले हाम्रो घरतिर हेर्दै  दया देखाउन थालेका थिए।

पाँच दिनपछि एक साँझ बा आँगनमा टुप्लुक्क देखा परे। बासँग उनको नेशनल पानासोनिक रेडियो थिएन। बाको अनुहारमा जुस्स परेका दारी पलाएका थिए। पाँच दिनमा शरीर पनि कति दुब्लो भएको। बालाई देखेपछि आमाको अनुहार जूनजस्तै उज्यालो भयो। बालाई झ्वाम्म अँगालो हालेर रुने मन हुँदो हो आमालाई तर मलाई देखेर त्यसो केही गर्न सकिनन्। घर पूर्णेको रातमा धर्ती बले जस्तो भयो। बा खटियामा एकदम थाकेको जसरी बसे। आमा खाना बनाउन थालिन्।

बा आए तर रामेश्वर दाइलाई आर्मीले छोडेन। रामेश्वर दाइबारे बालाई पनि केही थाहा भएन। बा र रामेश्वर दाइलाइको  नेशनल पानासोनिक रेडियो जफत भयो। बाआमाले झगडा गर्न छोडे। झगडाको मुल जड आर्मीले जफत गरेको जो थियो। पहिलेजस्तो बाले गाउँ जान छाडेका थिए। बाले अर्को रेडियो किन्ने पनि सकेनन्। बाले रेडियो सुनेको यति ठूलो सजाय होला भनेर कहिल्यै सोचेका थिएनन्। बा आफ्नै गाउँमा पनि बिरानो मुलुकमा हराएको परदेशीजस्तो भएका थिए। अक्क न बक्क।

रामेश्वरको दाइको खबर के भयो कसैले बुझेन। दाइको बारेमा बुझ्ने आँट कसैको भए पो ! रामेश्वर दाइ र उनको रेडियो दुबै गायब  भए। मैले नेशनल पानासोनिक रेडियोको तागत त्यही दिन थाहा पाएँ। त्यसपछि जनवादी रेडियो गाउँको कुनै रेडियोमा बजेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.