|

काठमाडौं : बिहीबार भारतबाट आयात हुने विजुलीमा २८ मेगावाटले कमी आएको छ। बुधबारसम्म भारतबाट ३५२ मेगावाट विजुली आयात भइरहेकोमा विहीबार जम्मा ३२४ मेगावाट विद्युत आयात भयो।

भारतबाट के कारणले कम विजुली आयात भयो भन्ने विषयमा भने उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु अनभिज्ञ छन्। 'आपूर्तिमा निरन्तर घटबढ भइरहन्छ हाम्रो सिस्टममा आएको खराबीको कारण पनि हुन सक्छ, भारतले कमी दिएको पनि हुनसक्छ' उर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले थाहाखबरसँग भने।

नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर खगेन्द्र शाहीले भारतबाट बिहीबार कम विजुली आयात भएको बताए। बुधबार खिम्ती ढल्केवर प्रशारण लाइन परीक्षण गर्दा केही बढी विजुली आयात भएको हुनाले बिहीबार कम देखिएको उनको भनाइ छ। उनले सामान्य अवस्थामा भन्दा १०/१५ मेगावाट कमी आएको हुन सक्ने जानकारी दिए।

भारतबाट आउने विजुली घटेपछि बिहीबार नेपालमा आवश्यक विजुली भन्दा ४०० मेगावाट कम मात्र आपूर्ति भएको छ। बिहीबार नेपाल विद्युत प्राधिकरणको सिष्टममा ८५० मेगावाटमात्र विजुली छ।

विहीबार विजुलीको उच्चतम माग १२५० मेगावाट रहेको छ। दैनिक ५/७ मेगावाटमा माग तथा आपूर्ति घटबढ भइरहनु स्वभाविक भएको पन्थले बताए। बिहीबार राष्ट्रिय प्रशारण लाइनमा निजी क्षेत्रको उत्पादन १८० मेगावाट भारतबाट आयातित ३२४ मेगावाट र नेपाल विद्युत प्राधिकरणको उत्पादन ३४७ मेगावाट रहेको छ। प्राधिकरणको उत्पादन भने बिहीबार भन्दा एक मेगावाट बढेको छ। बुधबार ३४६ मेगावाट रहेकोमा बिहीबार ३४७ मेगावाट पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.