|

चितवन :  नेपाल अण्डा उत्पादक संघ र अण्डा बिक्रेताहरुले मूल्य घटाएका छन्। चितवन जिल्लालाई आधार मानी अण्डाको मूल्य माघको पहिलो हप्तादेखि नै लागु हुने गरी क्रेटमा ३० रुपैयाँ घटाइएको नेपाल अण्डा उतपादक संघले जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार ठूलो अण्डाको फार्मले बिक्री गर्ने मूल्य प्रति क्रेट ३४५ र बिक्री मुल्य ३५० कायम गरिएको छ । त्यस्तै मध्यम अण्डा प्रतिक्रेट फार्मले बिक्री गर्ने मूल्य ३२५ र बिक्री मूल्य ३३० रुपैयाँ राखिएको छ।

यसअघि ठूलो अण्डा प्रति क्रेट फार्म मूल्य ३५५ र बिक्री मुल्य ३६५ कायम गरिएको थियो भने मध्यम खालको अण्डाको फार्म मूल्य ३४० र बिक्री मुल्य ३५० थियो। उत्पादक र बिक्रेताले अण्डाको भाउ घटाएपनि सर्वसाधारणले तिर्नुपर्ने मूल्य भने घटाइएको छैन।  

चितवनमा मात्रै दैनिक करिब ९ लाख अण्डा उत्पादन हुदै आएको छ। उत्पादनको करिब ९० प्रतिशत अण्डा काठमाडौ, पोखरा लगायत पूर्वी नेपालमा जाने गरेको केसीले बताए।

अण्डाको माग बढेतापनि जाडो र हिमपातका कारण देशका पहाडी तथा उच्च स्थानमा अण्डा पुर्‍याउन नसकिएको उनले बताए। अहिलेको समयमा स्कुल कलेजमा जाडो बिदा हुनु र स्वस्थानीको ब्रत कथा शुरु भएकोले गर्दा अण्डाको उपभोगमा केही कमी आएको व्यवसायीहरु बताउँछन्।

चितवनमा उत्पादन भएको अण्डा यातायातको पहुच हुने स्थानमा खपत होस् भन्ने उदेश्यले केही समयको लागि घटाइएको संघले जनाएको छ। व्यवसायीहरुले यहाँ मौसम र समयको परिस्थिति हेरी अण्डाको मूल्य हेरफेर गर्दै आएका छन्। नेपालमा कुखुरा व्यवसायमा झण्डै ७५ अर्ब लगानी भएको छ। चितवनलाई कुखुराको राजधानीको रुपमा चिनिन्छ। अधिकांश उतपादन चितवनमा हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.