|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा शक्तिशाली बम विस्फोट भयो। घटनामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको हो। अन्य तीनजना गम्भीर घाइतेसमेत भएका छन्। विस्फोटमा परी राजेश्वर साह र उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ।

राजेश्वर र उनका छोरा आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

घटनामा प्रहरी जवान रिजन महतो, मृतक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। उपचारका लागि धरान नै लगिएको छ। बमको छर्रा उनीहरुको शरिरको विभिन्न भागमा लागेको स्थानीयले बताएका छन्। मृतक बाबु–छोराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ। कसरी भयो घटना? विस्फोट मृतक राजेश्वरको आँगनमै भएको छ।

घरको अगाडि एउटा गेट र बीचमा अर्को दोस्रो गेट छ। फलामको दोस्रो गेटमा रातो झोला झुण्डिएको परिवारका सदस्यले देखे। शंका लागेपछि प्रहरीलाई शुक्रबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरे।

बम हैन भनेर आश्‍वस्त पार्दै थिए मृतक दाहाल

बमको आशंका लागेपछि घरका सदस्यहरु बाहिर निस्केका थिए। केहीबेरमै प्रहरी आइपुग्यो। प्रहरी निरीक्षक दाहाल गेटनजिक गएर झोला हेर्न पुगे। उनले बम हो वा होइन छुट्याउन सकेनन्। उनी फर्के। केही समयपछि पुनः बम भएको झोला हेर्न पुगे। उनले केही होइन भनेर घरका सदस्यहरुलाई सुनाए। त्यसपछि गेटनजिकै घरका सदस्यहरु पुगेका थिए। सोही बेला विस्फोट भयो।

विस्फोटले धरती नै हल्लियो। प्रहरी निरीक्षक र घरका सदस्यहरु आँगनमा ढलेका थिए। विस्फोटले घरमा समेत क्षति पुगेको छ। झ्यालका सिसाहरु फुटेको छ। बम राखिएको फलामे ढोकासमेत बाङ्गो भइसकेको छ।

विस्फोटको शक्तिले शौचालयका ढोकाका भत्किसकेको छ। आँगनमा जताततै रगत बगेको देखिन्छ। मृतक राजेश्वरका काका रामलगन साहले प्रहरी आएपछि बम छैन भनेपछि घरका सबै सदस्यहरु गेटनजिक पुगेलगत्तै विस्फोट भएको सुनाए। उनले भने, ‘बमको आशंकामा घर खाली गरिसकेको थियो। तर प्रहरीले बम होइन, शंका नगर्नुस्’ भनेपछि उनीहरु आए। लगत्तै विस्फोट हुँदा घटना भयो।’

सेनालाई बोलाउँदै थियौँ : प्रहरी

यता, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार प्रहरीले बम हो भनेर नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत खबर गरेको थियो। उनले भने, ‘तर एकछिनमै विस्फोट भयो। यस विषयमा अनुसन्धान भइरहेको छ।’

उनले प्रहरीको दोष नरहेको समेत दाबी गरे। बम कसरी विस्फोट कसले र किन गराएको विषयमा केही खुल्न सकेका छैन। विस्फोटको जिम्मेवारी पनि कसैले लिएका छैन। मृतक रामेश्वर महेन्द्रनगरमै औषधि पसल छ।

छोरा आनन्द पनि औषधि पसलमै बस्थे। स्थानीयका अनुसार मृतक साह रकम ब्याजमा लगानी गर्थै। त्यसैले रकम लेनदेनको विवाद वा व्यक्तिगत रिसइबीका कारण विस्फोट गराएको स्थानीयको अनुमान छ। विस्फोट भएको घर क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको घरदेखि करिब १ सय मिटरमै पर्छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर पनि घटनास्थलदेखि करिब ६/७ सय मिटर दूरीमा छ।

टोल नै शोकमा विस्फोटले एकै परिवारका दुई जनाको मृत्यु र तीनजना घाइते भएपछि उक्त टोलबासी शोकमा डुबेका छन्। घटनास्थलमा ठूलो भिड लागेको छ, सबैको अनुहार मलिन देखियो। विस्फोटले स्थानीय त्रसित बनेका छन्। घटनाबारे स्थानीय केही बोल्न तयार देखिँदैन।

 अत्यन्त दुःखद घटना : मेयर  पजियार

घटनास्थल पुगेका क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले घटना अत्यन्त दुःखद भएको बताए। उनले भने, ‘कुनै विषयमा विवाद नै भए पनि बसेर समाधान गर्न सकिन्थ्यो। तर यस्तो खालको घटना घटाउनु जघन्य अपराध हो।’ उनले घटनाको छानविन गरी अविलम्ब दोषीलाई समातेर कारबाही गर्न प्रशासनसँग मागसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.