|

बर्दिया : बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको हो।

शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए। सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको थियो। दिउँसो सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ।

सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेस फेला पारेको हो। शनिबार बिहान राजमार्गमा पर्ने भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो।

अगाडि प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेससहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.