मर्न तयार छौँ तर जग्गा छोड्दैनौँ : स्थानीय

|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले अतिक्रमण भएको सार्वजनिक ऐलानी जग्गा खाली गर्न सुरु गरेको छ। तुलसीपुर बसपार्क जाने बाटोमा निर्माण भएका घरहरू हटाइसकेको छ।

त्यसैगरी औद्योगिक ग्राम प्रस्ताव गरिएको तुलसीपुर-१६ जदागाउँमा रहेको करिब एक सय विगा बढी जमिन अतिक्रमण भएको भन्दै त्यहाँ रहेका बस्ती हटाउने भनि उपमहानगरपालिकाले सूचना प्रकाशित गरिसकेको छ भने बस्तीमा बस्दै आएका स्थानीयले भने आफूहरूले २०/२५ वर्षदेखि भोगचलन गर्दै आएको जमिन नछाड्ने अडान लिँदै आएका छन्।

जदागाउँमा रहेको जमिनलाई गएको बैशाख १९ गते तुलसीपुर उपमहानगरपालिकाको ५७ औँ कार्यपालिका बैठकले औद्योगिक ग्राम गराउने निर्णय गरेको थियो। वडाध्यक्षहरूको प्रस्तावमा तुलसीपुर १६ को जहदागाउँ, वडा नं. २ को घोरबन्डा, वडा नं.३ को रेउले टोलको तल्लो भेग,  वडा नं. १३ को भन्ज्याङ डाडाँ र  वडा नं. १० को बेलगनारमा रहेको प्रति ऐलानी जग्गालाई कार्यपालिका बैठकले औद्योगिक ग्राम बनाउने निर्णय गरेको तुलसीपुर उपमहागनरपालिले जनाएको छ।

अहिले जदागाउँमा करिब १३० जनाले उक्त जग्गा बाँडफाड गरी भोग चलन गर्दै आएका छन् भने करिब २५ वटा घर टहरा  बनाएर बस्दै आएको स्थानीयको भनाइ छ। २०/२५ वर्षदेखि तुलसीपुर १६ जदागाउँमा बस्दै आएकी कृष्ण थरूनीले ज्यान गए पनि जग्गा नछोड्ने बताइन्। उनले आफूसँग अनेत्र जग्गा नभएको भन्दै दुःखकष्ट गरेर बनाएको जग्गा नछोड्ने बताइन्।

'यदि हामीलाई हटाउनु नै थियो, भने वडाले किन हामीलाई खोलाले कटान गरेको बेला तारजाली किन दियो', उनले भनिन्, 'खोलाले कटान गरेरको जग्गालाई  संरक्षण गरेर बस्दै आएका हौँ, हामीले ज्यान जाला तर छोड्दैनौँ।'

त्यसैगरी, सोही स्थानमा बस्दै आएका जगराम चौधरीले स्थानीय सरकारले बल प्रयोग गरि हटाउन खोजमा यहीँ ज्यान दिने भन्दै उनले २०/२२ वर्षअघि एकजनालाई २१ हातका दरले बाँडेर बसेको बताए। करिब १३० घरपरिवारले उक्त जग्गा बाडेका भएता पनि अहिले २५ वटा घर बनाएर बस्दै आएको चौधरीले बताए।

त्यसैगरी अर्का लालबहादुर बिकले निर्वाचनको बेला भोट माग्न आउँदा लालपूर्जा पाउँछौ, भन्दै भोट मागेको र जितेपछि उठिबास लगाउन लागेको भन्दै हटाउन लागे डोजर अगाडि नै सुत्ने तर जग्गा नछोड्ने बताए।

त्यसैगरी बस्ती बचाउ अभियानका संयोजक ईश्वरी भण्डारीले वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनमा अहिले आएर उपमहानगरले अतिक्रमण गरेको भन्नु सरकारको नांगो हस्तक्षेप भएको बताए।

यता  तुलसीपुर उपमहानगरपालिकाले भने अतिक्रमित जग्गा खाली गराएर छोड्ने बताएको छ। तुलसीपुर उपमहानगरपालिकाभित्र अतिक्रमण भएका जग्गाहरू संरक्षण गर्न उपहानगरपालिका जुटेको उपमहागनरपालिका प्रवक्ता तथा कार्यबाहक नगर प्रमुख सूर्यबहादुर डाँगी (श्याम)ले बताए।

अतिक्रमण गरेर बसेकाहरूले हामी हट्दैनौँ, भनेर सरकारसंग पैठेजोरी नखोज्न उनले आग्रह गरे। उनले भने, 'यदि शुद्ध सुकुम्बासी भएमा उनीहरूको व्यवस्थापन गर्न सरकारले गर्ने छ। तर, अरू ठाउँमा जग्गा भएर सुकुम्बासी हौँ, भनि सरकारी जग्गा अतिक्रमण गरी बसेकालाई जग्गा खाली गराएरै छोड्छौँ।' 

उक्त जदागाउँको जमिन खाली गराउने सूचना जारी गरेको र यदि सूचनालाई बेवास्ता गरेरमा बल प्रयोग गरेर भए पनि जग्गा खाली गराएरै संरक्षण गर्ने उनले बताए। 'हामीले कुनै पनि अप्रिय घटना नहोस् भनेर सूचना जारी गरेका छौँ', उनले भने 'तर, हाम्रो सूचनालाई बेवास्ता गरेर बसेमा सरकार टुलुटुल हेरेर बस्दैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.