|

तनहुँ : युपिभिसीको प्रयोग गरी घर निर्माण गर्ने आमनागरिकलाई सहज भएको छ।

तनहुँका आमनागरिकलाई यसको प्रयोगबाट निजी आवास निर्माण गर्न काठमाडौं, नारायणगढ, पोखरा जानुपर्ने बाध्यतालाई उद्योग सञ्चालनले सहज बनाएको छ। तनहुँमै पहिलो पटक दुई करोड ५० लाख रुपैयाँको लगानीमा शुभकामना युपिभिसी उद्योग सञ्चालनमा आएको छ।

व्यास नगरपालिका-१ भादगाउँका युवा व्यवसायी दिलबहादुर दरैले शुभकामना युभिपिसी उद्योग सञ्चालनमा ल्याएका हुन्। साढे दुई करोड रुपैयाँको लागतमा उद्योग सञ्चालनमा ल्याएको दरैले बताए।

'एक रोपनी जग्गामा उद्योग सञ्चालनमा ल्याएको छु,’ दरैले भने, '२७ लाख रुपैयाँको ठूलो मेशिन, ३० लाख रुपैयाँको ठूलो मेसिन, स-साना सामग्री सहित अन्य संरचना निर्माणमा सो खर्च भएको हो।’

जिल्लामै पहिलो पटक युपिभिसी उद्योग सञ्चालन गरिएको उनले दावी गरे। काठ, आल्मोनियम र फलामबाट बन्ने सामग्रीको विकल्पको रूपमा यसको प्रयोग बढ्न थालेपछि उद्योग सञ्चालनमा ल्याएको उनले बताए।

‘पानीले असर नगर्ने, धमिरा नलाग्ने वातावरणमैत्री झ्याल, ढोका निर्माणका साथै पार्टेसन समेत राम्रो देखिने र लामो समय टिक्छ,’ युवा व्यवसायी दरैले भने। उनका अनुसार युपिभिसीको प्रयोग गरिएको आवास करिव एक सय वर्षसम्म टिक्नेछ।

शुरुवातमै १३ जनालाई रोजगारी दिने उनले बताए। उद्योगको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शनिबार शुभारम्भ गर्दै वातावरणमैत्री यस्ता उद्योग कलकारखानालाई प्रोत्साहन गर्दै जानुपर्ने बताए। उनले उद्योग स्थापनाले नगरपालिकाका युवासमेत रोजगार हुनुका साथै आयस्तर बृद्धि हुने बताए।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर २ का अध्यक्ष काशिराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, उद्योग सञ्चालक दिलबहादुर दरै लगायतले यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.