चितवन : देशभरका ह्याचरी उद्योगले १० दिन चल्ला उत्पादन बन्द गर्ने भएका छन्। उचित मूल्य नपाएपछि देशैभर नै उत्पादन बन्द गर्नुपरेको नेपाल ह्याचरी उद्योग संघले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ।
उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेपछि शुक्रबार देशभरका १ सय ५० ह्याचरी उद्योगी व्यवसायी भेला भएर छलफल गरेका थिए। उक्त भेलाले मंसिर २९ देखि १० दिनसम्म चल्ला उत्पादन बन्द गर्नेलगायत विभिन्न निर्णय गरेको शनिबार जानकारी गराएका हुन्।
चल्ला उत्पादन गर्न ह्याचरी मेसिनमा राखिएको अण्डा पनि नष्ट गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए। १० दिनमा देशभरका ह्याचरी उद्योगबाट करिव ६० लाख चल्ला उत्पादन हुनेगरेको संघले जनाएको छ। यस्तै, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट पनि बिक्री गरिनेछ।
नेपालमा हाल प्रति हप्ता ४५ लाख ब्रोइलर चल्ला, २ लाख ५० हजार लेयर्स चल्ला र कलर ब्रोइलर चल्ला प्रतिहप्ता १ लाख ७० हजार वटा उत्पादन भइरहेको ह्याचरी संघले जनाएको छ। कुखुराको दानाको मूल्य बढ्दा दिनप्रतिदिन लागत बढ्ने र उत्पादीत वस्तुले उचित मूल्य नपाउँदा नकरात्मक प्रभाव परेको व्यवसायीको भनाइ छ।
१ खर्ब २० अर्ब लगानी रहेको नेपालको आत्मनिर्भर पोल्ट्री क्षेत्रलाई धरासायी हुनबाट जोगाउन विशेष ध्यान दिनुपर्ने व्यवसायीको माग छ। उनीहरूले १० दिन चल्ला उत्पादन बन्द गरेर समस्या समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्ने अध्यक्ष पोखरेलले बताए। पोल्ट्री क्षेत्रमा १ लाख ८० हजार व्यक्तिले रोजगारी पाएको संघले जनाएको छ।
लागत मूल्यभन्दा कम मूल्यमा पोल्ट्रीजन्य वस्तु बिक्री गर्नुपर्दा धेरै व्यवसायी पलायन हुन थालेकाले आत्मनिर्भर पोल्ट्री क्षेत्र संकटमा पर्दै गएकाले बेलैमा ध्यान दिनुपर्ने अध्यक्ष पोख्रेलले बताए। मुलुकभर ब्रोइलर, लेयर्स र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी उद्योग रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।