|

डोटी : ‘हामी दुःख मेहनत गरेर तरकारी लगाउछौं। बँदेल आएर एक रातमा हाम्रो सव मेहनत खतम गरिदिन्छ। 'लौन केही व्यवस्था गरिदिनु पर्‍यो’ केआइसिंह गाउँपालिका ७ चौडका कृषक गंगा सिंहले सम बिकास केन्द्र डोटीद्वारा संचालित दिगो जीविकोपार्जन प्रवर्द्धन परियोजनाको अनुगमनमा गएको टोलीसँग गुनासो पोखिन्।

केआइसिंह गाउँपालिकाका बिभिन्न ठाउँमा जंगली जनावरले खेतीवालीमा नस्ट गरेपछि कृषक आजित बनेका छन्। तरकारी उत्पादनका लागी उर्वर मानिएको चौडका करी भण्डारीले चोर औँलाले देखाउँदै भने, ‘पहिला यो सबै एरियामा तरकारी लगाउने गर्थ्यौं। तर अहिले जंगली जनावरका कारण यो घरनजिकै मात्र तरकारी गर्नु पर्ने अवस्था आयो।’

भण्डारीको कुरामा थप्दै अगुवा कृषक धनबहादुर भण्डारीले पनि भने,‘जति बेला हामीले यसका विषयमा ज्ञानको अभाव थियो। त्यो बेला धेरै क्षेत्रफलमा कृषिको काम गर्न सक्थ्यौं। तर अहिले  हामी धेरै नयाँ कृषि प्रविधिको कुरा सिक्यौं। अब जंगली जनावरले कुनै पनि हालतमा काम गर्न दिन्न तीन महिना लगाएर बनाएको मेहनत एक रातमा खतम गरिदिन्छ।’

जंगली जनाबर बँदेल, दुम्सी, बाँदरले कृषकले लगाएको बाली सखाप गर्दा काम गर्ने जाँगर समेत घटेको केआईसिंह गाउँपालिका ७ का अध्यक्ष हर्कबहादुर बिष्टले बताए। बिष्टले भने, ‘कृषकले बाली नष्ट गरेको कुरा सुनाउनु हुन्छ। हामीले केही गर्न सक्ने अवस्था छैन। हाम्रा लागि पनि चुनौतीको विषय बनेको छ।’

डिसिए को सहयोगमा सम बिकास केन्द्र नेपालद्वारा संचालित दिगो जीविकोपार्जन प्रवर्द्धन परियोजनाले कृषकको प्राविधिक ज्ञानमा क्षमताको बृद्धि गरिदिएको समावेसी कृषक समूहकी अध्यक्ष इन्द्रा बलायरले बताइन्। तर वन्यजन्तुका कारण कृषिमा अपेक्षाअनुसार प्रतिफल दिन नसकेको उनको भनाइ छ।

अध्यक्ष बलायरले भनिन्, ‘इडिसीले तालिम दिएपछि हामी थोरै क्षेत्रफलमा राम्रो उत्पादन गर्न सक्ने भएका छौं। नयाँ समस्याका रुपमा वन्यजन्तु आइलाग्यो। वन्यजन्तुको समस्याबाट तरकारी मात्र बचाउने हो भने पनि बाह्य जिल्ला तथा भारतबाट आउने तरकारी रोक्न सकिन्छ।’

समावेसी कृषक समूह भिताडीमा आबद्ध कृषक समूहमा आबद्ध भएका कृषकले कम्तीमा पनि एक लाख भन्दामाथि आम्दानी गरिहरेको अध्यक्ष बलायरले जानकारी दिइन्।

दिगो जीविकोपार्जन प्रवर्द्धन परियोजनाले कृषकलाई मूल्य श्रृंखलाका बारेमा जानकारी दिने तथा बजारसँग जोड्ने काम गरेको कार्यक्रम संयोजक रमेश भूलले बताए। संयोजक भूलले भने, ‘हामीले प्राविधिक सीप सिकाए छौँ। कृषकले धेरै राम्रो गर्न सक्थे। तर वन्यजन्तुको समस्या देखाउँछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.