|

  • देवानन्द न्यौपाने 

कैलाली : धनगढीको क्याम्पस रोडस्थित हुलाकी राजमार्ग हस्तान्तरण कार्यक्रममा भारतीय राष्ट्रिय गान बजेपछि विप्लव माओवादीले कार्यक्रम बिथोलेको छ। यस कार्यक्रममा भारतीय राजदूत रञ्जित रे प्रमुख अतिथि थिए।

नेपाली कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएको र निमार्ण पुरा नहुँदै सडक हस्तान्तरण गरिएका कारण कार्यक्रम बिथोलेको अखिल क्रान्तिकारी कैलालीका सचिव बबरजंग सिंहले बताए। यस ४० फिटे यस रोडको १० फिट भागमात्रै कालोपत्रे भएको छ। 

कार्यक्रममा उपस्थित भएका भारतीय राजदुतलाई अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कालो झन्डा देखाएका थिए। उनीहरुले कार्यक्रममा प्रयोग भएका कुर्सी तथा अन्य सामाग्री तोडफोड गरे। त्यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गर्‍यो। प्रहरीले झडपका क्रममा अखिल क्रान्तिकारीका जिल्ला नेता अनिल आचार्यलाई गिरफ्तार गरेको छ। यस कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक विशेष अतिथि थिए। 

व्यापारीले गरे गौरीफन्टा नाका स्तरोन्‍नतीको माग

कार्यक्रममा सहभागि हुन आएका भारतीय राजदुत रन्जित रेसँग कैलालीका व्यापारी तथा उद्योगपतिहरुले गौरीफण्टा नाकाको स्तरोन्‍नती गर्न माग गरेका छन्। व्यापारीहरुले यस क्षेत्रको समग्र विकासको लागि गौरीफण्टा नाकाको स्तरोन्नती आवश्यक भएको बताए। 

कैलाली उद्योग बाणिज्य संघले राजदुत रेको स्वागतमा धनगढीमा आयोजना गरेको कार्यक्रममा व्यापारी तथा उद्योगपतिहरुले गौरीफण्टा नाकाको स्तरोन्‍नतीका लागि लामो समयदेखि पहल गरिरहेको भएपनि सार्थक हुन नसकेकाले तत्काल पहल गरिदिन राजदुत रेसँग आग्रह गरे।

व्यापारीहरुको आग्रह सकारात्मक रहेको राजदुत रेले बताए। ‘भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ, यसका बारेमा पनि बुझेर भारत सरकारले सहयोग गर्छ,’ रेले भने। 

उद्योगपति ओमप्रकाश अग्रवालले गौरीफण्टा नाकाको स्तरोन्‍नती नहुदा यस क्षेत्रका व्यापारी देखी सबैलाई समस्या भएको बताए।  उनले भारत सरकारले पूर्वका विभिन्न नाकाहरुलाई बिस्तार गरेपनि पश्चिमको एक मात्र नाका गौरीफण्टालाई ध्यान नदिएको बताए। 

यस्तै उद्योगपति राजेन्द्र अग्रवालले पलियादेखि गौरीफण्टाको सडक दयनीय र साँघुरो हुँदा यस क्षेत्रमा उद्योग संचालनमा ठुलो समस्या भैरहेको बताए। कैलाली उद्योग बाणिज्य संघका सदस्य कृष्णराज पन्तले यस क्षेत्रका सबै बासिन्दाको साझा माग गौरीफण्टा नाकाको सुधार नै रहेकाले राजदुत रे लाई यसमा गम्भिर बनि तत्काल पहल गरिदिन आग्रह गरे।

पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सुदूरपश्चिम पर्यटकका लागि पनि निकै सम्भावित क्षेत्र रहेको र त्यसैमा धार्मिक पर्यटनमा पनि निकै सम्भावना रहेकाले गौरीफण्टा नाकाको स्तरोन्नती गरिए ठुलो राहत हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.