जग्गा खोज्दै उपमहानगर

|

बारा : व्यवसायी र उद्योगले  मालबाहक  सवारी साधन मूल सडक छेउमा  पार्किङ गरेपछि निर्माणाधीन पथलैया-वीरगञ्ज औद्योगिक सडकखण्ड  अस्तव्यस्त बनेको छ। भन्सार  र उद्योगबाट छुटेका मालबाहक सवारी साधन पूर्व-पश्चिम लोकमार्गको पथलैया चोक आसपासको मूल सडक र औद्योगिक करिडोरको सडक क्षेत्रमा  पाकिङ गरेपछि सडक अस्तव्यस्त बनेको  हो।

सवारीधनीले मनोमानी ढंगले मूल सडकमा सवारी पाकिङ गर्ने र स्थानीय तहले पनि पाकिङका लागि ठाँउको व्यवस्थापन गर्न नसक्दा निर्माणाधीन सडकको गुणस्तर घट्नुको साथै यसले दिनानुदिन दुर्घटनासमेत बढ्दै गएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख सुमन योगेशले निर्माणाधीन सडकमा पाकिङ गर्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने बताए। ‘गाडीधनीले ठाउँको व्यवस्थापन नगरी गाडी किन्ने अनि मूल सडकमा  ल्याएर पार्किङ गर्न पाइन्छ? हामीले सडक बनाइदिने काम हो, यसको व्यवस्थापन ट्राफिक र स्थानीय तहले गर्ने हो’ प्रमुख योगेशले भने ‘निर्माणाधीन सडकमा  मालबाहक सवारी साधन पाकिङ गर्दा यसले सडक धसिने, खाल्टाखुल्टी पर्ने, अत्यान्त छिटो सडक चिराचिरा पर्ने  समस्या देखिन्छ।’

हाल सडक विभागले पथलैयादेखि परवानिपुरसम्मको ३१ किलोमिटर क्षेत्रमा ६ लेनको सडक विस्तारको गरिरहेको छ। निर्माणाधीन सडकको दुवैतर्फको भाग उद्योगको कच्चा पदार्थ बोकेका र ढुवानी व्यवसायीका मालबाहक सवारी साधन पार्किङ गर्ने स्थल बन्दै आएको छ।

प्रदेश-२ प्रदेश ट्राफिक कार्यालय पथलैयाका प्रमुख, प्रहरी उपरीक्षक  योगबहादुर पालले स्थानीय निकायको लापरबाहीका कारण पूर्व-पश्चिम लोकमार्ग र औद्योगिक करिडोर क्षेत्रमा पाकिङको व्यवस्थापन जटिल समस्या बन्दै गएको बताए। ‘हामीले स्थानीय तहलाई पाकिङको लागि ठाँउ छुट्याइदिनुस् भनेर पटकपटक भनिसक्यौँ तर, उहाँहरूले चासो नराखेपछि सडकमै पाकिङ गर्नुभन्दा हामीसँग अर्को विकल्प छैन्’  उनले भने, ‘मूल सडकको दुर्वतर्फ पाकिङ गर्दा यसले हामीलाई सास्ती दिने मात्रै होइन सवारी दुर्घटनासमेत बढेको छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सवारी साधनको पाकिङको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ। तर, जितपुरसिमरा उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रभित्र रहेका  सार्वजनिक जग्गाको सदुपयोग गर्न नसक्दा पाकिङको व्यवस्थापन  जटिल बन्दै गएको छ। वीरगञ्ज-पथलैया औद्योगिक करिडोरमा भन्सार  र उद्योगबाट छुटेका गरी पाँच हजार २ सय मालबाहक सवारी साधन दैनिक आवतजावत गर्छन्।

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फडिन्द्रमणि पोखरेलले  मालबाहक सवारी साधन पाकिङका विषयमा सम्बन्धित निकायसँग पटकपटक छलफल भइरहेका  जनाए। ‘हामीले स्थानीय निकायलाई   भए नगरपालिकाले आफ्नो सार्वजनिक जग्गाको खोजी गर्नोस् नभए भाडामा भए पनि खाली जग्गा खोज्नुस् भनेका  छौँ, केही दिनभित्रमा यसको समाधान हुन्छ’ प्रजिअ पोखरेलले भने।

यता, जितपुरसिमरा उपमहानगरपालिका-१ का वडाध्यक्ष  हिराबहादुर गुरुङले  पार्कीङ व्यवस्थित बनाउन उपमहानगरको कुनै योजना र चासो नदेखाएको बताए। ‘हामीले पार्कीङ व्यवस्थापन गर्न खाली स्थान नगर प्रमुखलाई देखायौँ। तर, उहाँले  चासो देखाउनु भएन, जसले गर्दा आज पूर्व-पश्चिम लोकमार्गको पथलैया र आसपासको बजार क्षेत्रमा सडक दुर्घटनाको जोखिम बढेको छ। शहर सौन्दर्यविहीन भएको छ’ वडाध्यक्ष गुरुङले भने।

जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले भने  सवारी पाकिङका लागि ठाँउको खोजी भइरहेको बताए। ‘हामीले पाकिङका लागि ठाँउको खोजी गरिरहेका छौँ। भए सार्वजनिक नभए भाडाको जग्गा खोजेर भएपछि छिट्टै वयवस्थापन मिलाउछौँ’ नगरप्रमुख डा. पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.