गाउँपालिकाका कार्यालय परिसरभित्रै डिजेल पम्प

|

हेटौंडा : दोस्रो संविधानसभामार्फत जारी संविधानमा तीन तहका शासकीय स्वरूपको व्यवस्था गरिएको छ।

संघीयता कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचनका बेला दलहरूले ‘गाउँगाउँमा सिंहदरबारको नारा लगाए। तर जनताले जनप्रतिनिधिबाट अपेक्षा गरेअनुसार काम नभएको र सिंह मात्रै गाउँमा आएको भनिरहँदा मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित एक गाउँपालिकाले भने अन्य स्थानीय तह भन्दा फरक ढंगले काम गर्न सुरु गरेको छ। 

मकवानपुरको बागमती गाउँपालिकाले जनतालाई स्थानीय तहमै अधिकार आएको अनुभूति हुने गरी काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले दाबी गरेका छन्। बागमती गाउँपालिकामा अध्यक्षको उम्मेदवार हुँदा घोषणा गरेका ऐलानी जग्गाको लालपुर्जा दिन गाउँपालिकाले आफ्नै खर्चमा सर्वेक्षण सुरु गरिसकेको छ।

३ हजार ११.७९ वर्ग किलोमिटर क्षेत्रफलको गाउँपालिकामा अधिकांश भूमिहीन ऐलानी जग्गामा बसोबास गर्ने गरेका छन्। मकवानपुरको फापरबारी, राइगाउँ र बेतिनी गाविसहरू समायोजन भएर बनेको गाउँपालिकामा ३० हजार ५ सय जनसंख्या रहेको छ। 

अस्थायी लालपुर्जा

गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिन प्राविधिकलाई करारमा नियुक्त गरी जग्गा नापजाँच गर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष घलानका अनुसार ४ नम्बरका लालपूर्जा विहीनको जग्गा नापी भइसकेको छ। ९ जना अमिन र सर्वेक्षक भर्ना गरी नापी गर्दै नक्सा निकाल्ने काम भइरहेको अध्यक्ष घलानले बताए।

उनले गाउँपालिका भित्र १० वर्षदेखि भोगचलन गर्दै आएका जग्गा धनीलाई गाउँपालिकाको तर्फबाट नै अस्थायी लालपूर्जा दिने गरी समेत काम अगाडि बढाइरहेको बताए। गाउँपालिका अध्यक्ष घलानका अनुसार संघीय सरकारको भूमि सुधार ऐनले ऐन प्रमाणिकरण गरेपछि लालपुर्जा दिन मिल्ने गरी सर्वेक्षण गरेर अस्थायी लालपुर्जा दिने तयारी गरेको हो। 

गाउँमै मिटरबक्स

बाग्मती गाउँपालिकाले विद्युत चुहावट कम गर्न स्थानीय तहबाटै फारम भरेर गाउँमा ल्याई वितरण सुरु गरेको छ। गाउँपालिकाले हालसम्म करिब दुईहजार मिटर बक्स वितरण गरिसकेको छ भने अझै एकहजार मिटर बक्स वितरण गर्ने तयारी गरेको अध्यक्ष घलानले बताए।

अध्यक्ष घलानले अधिकांश परिवारको लालपुर्जा नभएकोले विद्युत प्राधिकरणकै नियमअनुसार लालपुर्जा नहुनेलाई गाउँपालिकाको सिफारिसमा एक हजार धरौटीमा मिटरबक्स वितरण गरेको बताए। अब दुई हजार मिटर बक्स वितरण गरेपछि गाउँपालिकाको फापरबारी बजारमा विद्युत वितरण केन्द्रको उपशाखा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

आफ्नै उपकरण खरिद

गाउँपालिकाले उपभोक्ता समितिमार्फत गर्नुपर्ने तथा अन्य सानोतिनो कामको लागि आफ्नै उपकरण खरिद गरेको छ। अध्यक्ष घलानका अनुसार ३ वटा टिपर, एउटा ग्रेडर, एउटा स्काभेटर, एउटा ब्याकलोडर जेसिबी र एउटा ट्रेलर खरिद गरेको छ। उपभोक्ता समितिको काम गर्दा गाउँपालिकाले भने रसिद काटेर गर्ने गरेको छ।

गाउँपालिकाले आफ्नै कार्यविधि बनाएर उपभोक्ता समितिको काम गर्दा गुणस्तर र सस्तो दरमा काम हुने भएकाले यसो गरेको अध्यक्ष घलानले जानकारी दिएका छन्। गाउँपालिकाका सवारी साधन र अन्य निर्माण तथा उपकरणको लागि कार्यालय परिसरभित्रै डिजेल पम्प समेत खोलेको छ।

गाउँपालिकाले सिधै आयल निगमसँग सम्झौता गरेर डिजेल डिपो जसरी गाउँपालिकाका सवारी साधन र उपकरणलाई डिजेल उपलब्ध गराउने अध्यक्ष घलानले तर्क गरेका छन्। गाउँपालिकामा सडक मर्मत र उपभोक्ता समितिमार्फत तथा अन्य ठेक्कामार्फत काम नभएका ठाउँमा सँधै जसो काम गरिरहेको अध्यक्ष घलानको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.