|

काठमाडौं :  सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ।  पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्ने बैठक  विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो।

मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो। अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ। स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।

त्यस्तै नेकपाले काठमाडौं उपत्यकामा १५१ सदस्यीय गैर भौगोलिक विशेष प्रदेश किमिटी गठन गर्दैछ। स्थायी समिति सदस्य लीलामणि पोखरेल इन्चार्ज, भानुभक्त ढकाल र अरुण नेपाल सहइन्चार्ज, राजन भट्टराई अध्यक्ष र लेखनाथ न्यौपाने सचिव रहेको पदाधिकारी चयन यसअघि नै गरिसकेको छ। विशेष प्रदेश कमिटीमा रहने नेताहरुको नाम शनिबार अध्यक्ष राजन भट्टराईले महासचिव विष्णु पौडेललाई बुझाएका छन्।

तत्कालीन एमाले तर्फका ८५ र माओवादी केन्द्र तर्फका ६६ जना नेता रहेको कमिटीको नाम बुझाइएको भट्टराईले जनाएका छन्। सचिवालय बैठकले कमिटीमा रहने नेताहरूको नाममा निर्णय लिएपछि यो निर्णय सार्वजनिक हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.