|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटले एक प्रहरी निरीक्षक र बाबु–छोरासहित तीन जनाको ज्यान गएपछि प्रदेश २ का हरेक जनता दुःखी छन्। तर प्रदेश २ सरकारलाई भने यो घटनाले छोएन। घटनाप्रति मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म दुःख व्यक्त गरेका छैनन्।

घटनाले जनता र नेपाल प्रहरी शोकमा डुबेको छ। मृतकका घरमा दिनभर कैयौं नेताहरु पुगेर सान्तव्ना दिए। नेताहरु सामाजिक सञ्जाल मार्फत घटना अत्यन्त दुःखद भएको भन्दै अपराधीलाई कडा कारबाही गर्न माग समेत गरेका छन्। तर मुख्यमन्त्री लालबाबु राउत भने शनिवार महोत्तरीमा पोखरी सौन्दर्यीकरणको शिलान्यासमा व्यस्त थिए।

मुख्यमन्त्री राउतले दुःख व्यक्त पनि नगरी पोखरी सौन्दर्यीकरणको शिलान्यासमा व्यस्त भएको भन्दै सामाजिक सञ्जालमा अनेक खालका टिकाटिप्पणी भइरहेको छ। कतिपयले त प्रदेश २ मा सरकार छ कि छैन भनेर प्रश्न तेर्साएका छन्। संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले समेत घटना याततायी भएको भन्दै अपराधीलाई कडा कारबाही गरेरै छाड्ने प्रतिवद्धता सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् तर प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव मौन छन्। 

प्रदेश २ मा बम विस्फोटको घटनाले सबैलाई स्तब्ध बनाएका बेला प्रदेशका मन्त्रीहरु मौन बस्नुले गलत सन्देश गएको जनकपुरका युवा अभियन्ता किशन साहले बताए। उनले भने, ‘प्रदेशका मन्त्रीहरु कम्तिमा पीडितलाई भेटेर सान्तव्ना दिनुपर्थ्यो । तर दुःख व्यक्त पनि नगर्नु गलत मानसिकता हो।’ प्रदेश २ सरकार जनताको पक्षमा नदेखिएको उनको भनाइ छ।

जनताको शान्ति सुरक्षाको जिम्मेवारी पनि प्रदेश सरकारको हो। तर यस्तो आयततायी घटनाप्रति पनि प्रदेश मन्त्रीहरु मतलवविहिन बन्नुलाई सर्वसधारणले गैरजिम्मेवारी ठानेका छन्। विस्फोटमा संलग्न अपराधीलाई कम्तिमा कानुनको कठघरामा उभ्याउन प्रदेश सरकारले पनि चासो देखाउन आवश्यक रहेको साहको भनाइ छ।

मृतक प्रहरीनिरीक्षक अमिर दाहालको काठमाडौंमा र बाबु–छोराको दाहसँस्कार गाउँमै शनिवार गरिएको छ। मृतक बाबु–छोराको दाहसंस्कारमा नेकपा नेता तथा पूर्वमन्त्री रघुविर महासेठ समेत सरिक भए। उनले घटना दुःखद भएको भन्दै अपराधीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गरे। 

यस्तै समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले समेत घटनामा संलग्नलाई छिटोभन्दा छिटो समातेर कडा कारबाही गर्न माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.