फुटपाथमा हिँड्दा पनि ज्यान जोगाउनै मुश्किल

|

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका-५ स्थित बूढानीलकण्ठ स्कुलको गेटनजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले शनिबार बिहान साढे १० बजेतिर सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई किच्दै बत्तियो। 

मानिसलाई किच्दै हुत्तिएको उक्त कार बिजुलीको खम्बामा गएर ठोक्किँदै रोकियो। कारबाट दुई युवती निस्किएर भागे। लिलालाई ठक्कर दिने २१ वर्षीय पृथ्वी मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै समात्यो। उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगियो।

कारको ठक्करबाट कम्मरमाथिको भागमा ठूलो चोट लागेकी लिलालाई नजिककैको न्यूरो अस्पतालमा ल्याइयो। तर, उनलाई चिकित्सकहरुले मृत घोषित गरिदिए। बिहान साढे १० बजेतिर भएको दुर्घटनामा लिलाको शरीरमाथि गाडी कुदाउने मल्ल र मास्केका आफन्त दिउँसो ४ बजेसम्म पनि पीडित परिवार र प्रहरीको सम्पर्कमा आएनन्।

पस्मिना उद्योगमा काम गर्ने लिलाको मृत्युको खबर सुनेलगत्तै उनका मजदुर साथीहरु र आफन्तहरु न्युरो अस्पतालमा जम्मा भए। प्रहरीले हतारहतार शवको मुचुल्का उठाउन र जाहेरी दिन दबाब दियो। तर पीडित पक्षले पहिले पीडकको परिवारसँग यो गम्भीर लापरवाहीबारे छलफल गर्न चाह्यो। पीडित पक्षका मानिसहरु न्यूरो अस्पतालमा रहेकै बेला महाराजगञ्ज बृत्तको हिरासतका दुवैका लागि परिवारले लुगासहितका सामान छाडेर गए। त्यसपछि प्रहरी बृत्त पुगेका लिलाका आफन्तको दबाबपछि मात्रै प्रहरीले मल्ल र मास्केका परिवारलाई बोलायो।

महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख उत्तमकुमार सुवेदीले यो दुर्घटनाबारे छानविन भइरहेको बताएका छन्।

मदिराको मस्ती, शरिरमाथि गस्ती 

बूढानीलकण्ठ बस्‍ने लिला शनिबार बिहान टुँडिखेल छेउको संकटा मन्दिरमा दर्शन गरेर घर फर्कँदै थिइन्। सडकको पेटीबाट हिँडेकी उनलाई लेन मिचेर अनियन्त्रित गतिमा आइरहेको कारले एकैठाउँ पारिदियो।

स्थानीयवासी, घटनास्थलका प्रत्यक्षदर्शी र प्रहरीअनुसार ती व्यक्तिहरु रातभर काठमाडौंका रात्रिकालिन बजारमा मादक पदार्थ पिएर दुईजना युवतीसहित बिहानीपख शिवपुरी नजिककैको डाँडागाउँ पुगेका थिए।

त्यहाँ पनि मदिरा पिएका उनीहरु तिनै युवतीलाई कारमा राखेर महाराजगञ्जतर्फ आउँदै थिए। मदिराले मातेका उनीहरुले लापरवाहीपूर्वक सवारी चलाएको स्थानीय राजन ठकुरीले जानकारी दिए।

दुर्घटनापछि क्षतिग्रस्त कार

बिजुलीको पोलमा ठोक्किएको कारभित्र रक्सीका बोतल र विभिन्‍न प्रकृतिका मादक पदार्थसमेत भेटिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। तर महाराजगञ्ज प्रहरीले भने अहिलेसम्म घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन। मृतक लिलाका आफन्तलाई अनुसन्धान भइरहेको एकोहोरो जवाफ प्रहरीले दिइरहेको छ।

अमेरिकामा पनि मल्लको उस्तै वितण्डा

लिलाको ज्यान लिनेगरी कार चलाउने मल्ल पाँच दिनअघि मात्रै अमेरिकाबाट फर्किएका व्यक्ति भएको खुलेको छ। बूढानीलकण्ठ नगरपालिकाको हेपाली हाइटका मल्ल अमेरिकामा पनि मादक पदार्थ पिएर पटक-पटक वितण्डा मच्चाउने व्यक्ति रहेको खुलेको प्रहरी स्रोतले जानकारी दियो।

पीडित परिवारसँग शनिबार अबेर भेटेका मल्लका आफन्तले पनि पीडक परिवारसँग आफूहरु नै मल्लसँग दिक्क भइसकेको बताएका थिए।

मचुल्का उठेन, उम्कने दाऊ

तुलनात्मक रुपमा सम्पन्‍न पृष्ठभूमिको चालक पृथ्वीका परिवार दुर्घटनाबाट आफुहरु जोगिने बाटो खोज्न लागिपरेका छन्। महाराजगञ्ज प्रहरी बृत्तमा फाट्टफुट्ट देखिएका उनका आफन्तले वकिलको सहयोग लिएर भएपनि अभियुक्त पृथ्वी र करिशलाई जेलबाट निकाल्ने दाबी गरिरहेका छन्। 

मृतक लिलाका आफन्तले भने मादकपदार्थ पिएर मनलाग्दी सवारी चलाएर मानिस मार्ने पृथ्वी र गिरीशका परिवारले घटनामा मानवीय संवेदनशीलता देखाउँदै माफी मागेर उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिरहेका छन्। तर गाडीले किचेर मान्छे मार्ने मल्ल र मास्केको एकाघरका सदस्य भने अहिलेसम्म पीडितसँग सम्पर्कमा आइसकेका छैनन्। 

चुडिँयो पस्मिनामा उनिएको सपना 

परिवार, श्रीमान् र बालबालिका सबैको जिम्मेवारी सम्हालेकी लिला गोरखाको सुलिकोट बारपाक गाउँपालिका-८ बाट एकदशक अघि काठमाडौं आएकी थिइन्। चारजना छोराछोरी र श्रीमान्स‍हित काठमाडौं आएकी लिला छाउनीको एक पस्मिना कारखानामा काम गर्थिन्।

उक्त कम्पनीमा उनका नातासमेत काम गर्छन्। बाबुनानीको भविष्यका लागि कारखानामा घोटिँदै आएकी देवकोटा दम्पत्तिको सपना एक दुर्व्यसनीहरुको मनमौजीले पस्मिनाको धागोझैं चुँडिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.