|

बागलुङ : गत आर्थिक वर्षको तथ्यांकअनुसार बागलुङका दशवटै स्थानीय तहले विकास बजेटको अधिकांश अंश सडक निर्माणमा खर्च गरेका छन्।

चालु आर्थिक वर्षको प्रस्तावित बजेमा समेत पूर्वाधार निर्माणमा खर्चिने मध्येको अधिकांश रकम सडकमै खर्चिने निश्चित छ। किनभने उनीहरूले सडक निर्माणदेखि स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखेका छन्।

स्थानीय तहले मात्रै होइन बागलुङ क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक संयोजक रहेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ठूलो रकम सडक निर्माणको क्षेत्रमा विनियोजन गरेका छन्।

पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौट हुँदा सबैभन्दा बढी रकम सडक क्षेत्रमा विनियोजन गरिएको हो। ती योजनाका लागि सबै पालिकासँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हरेक निर्वाचन क्षेत्रका निर्वाचित प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा सबै पालिकाका प्रमुख सदस्य रहने कार्यक्रमले बागलुङ नगरपालिका भित्र २ करोड २५ लाख अनुदान दिने निर्णय गरेको छ। जिल्लाको बरेङ गाउँपालिकाले भने तोकिएको भन्दा केही कम रकमा पाउने छ भने बरेङलाई कम हुने रकम जैमिनी नगरपालिकाले पाउने छ।

सांसद पाठकका अनुसार बागलुङ नगरपालिकामा भलाटाकुरा काप्रे कालीमाटी सडक कालोपत्रेका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। बाँझाखेत बोक्से खोलाखेत सडक स्तरउन्नतिका लागि ३० लाख, पाखे, भुजाकाटे निफन्नी सडकमा ३० लाख, बोक्सेखाल्टा खहरे सडक स्तरउन्नतिका लागि ३० लाख र शहीद स्मृति पार्क निर्माण गर्न वडा नं. ७ मा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसबाहेक धौलागिरी अञ्चल अस्पतालमा ‘हाइकेयर युनिट’ निर्माणका लागि ५० लाख र धौलागिरी बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको संघीय सांसद डा. सूर्य पाठकले जानकारी दिए।

योजना संचालनका लागि बागलुङ नगरपालिकाले ७५ लाखको योगदान गर्नुपर्ने प्रावधान रहेको छ। अस्पतालमा ए र बी ब्लक व्यवस्थापनका लागि गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटाले ८ देखि १० लाख रुपैयाँ लगानी भित्राउने आश्वासनसमेत दिएको अध्यक्ष केवी राना मगरले बताए।

त्यस्तै, काठेखोला गाउँपालिकातर्फ १ करोड २५ लाख विनियोजन गरिको छ। त्यसमा गाउँपालिकाले २७ लाख ५० हजार लगानी थपेपछि १ करोड ६२ लाख रुपैयाँमा भिमापोखरा धम्जा, तंग्राम बिहुँ लेखानी रेश जोड्ने पहाडी चक्रपथ निर्माण गरिने भएको छ।

 जैमिनी नगरपालिका तर्फ १ करोड ३५ लाख अनुदान र नगरपालिकाको १ करोड लगानी गरेर कुश्मीसेरा–सरंगे सडक कालोपत्रे गर्न २ करोड लगानी गरिने निर्णय छ। त्यस्तै, पैयुँथन्थाप गैरापाटा खेल मैदानका लागि १० लाख र वडा कार्यालय छिस्तीदेखि चाउकेवारी पैयुँडाडा केवै सडक निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बरेङ गाउँपालिकातर्फ १ करोड १५ लाख विनियोजन भएको छ। त्यसमा गाउँपालिकाले ५१ लाख लगानी गरेपछि बरेङदेखि नाम्दुक सडकमा १ करोड ३० लाख, काफलठुटादेखि घट्ट सुधाला सडकका लागि १८ लाख र बराहकोटदेखि सुधालाचोक सडकका लागि १८ लाख विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.