|
फाइल तस्बिर

पूर्णप्रसाद मिश्र

काठमाडौं : प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स-रे र इसिजी यन्त्र चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन।

प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो। राजधानीकै नगरपालिकाको स्वास्थ्य केन्द्रको यस्तो अवस्था छ भने दूरदराजको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ। 

प्रदेश  ३ सरकारको  ५० लाख सहयोगमा केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको हो। केन्द्रबाट अस्पतालमा स्तरोन्नतिको घोषणा गर्न मुख्यमन्त्री डोरमणि पौडेल नै गोकर्ण आएका थिए। अस्पतालमा स्तरोन्नति भएपछि २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि हाल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेको छ। अस्पतालमा १५ शय्या रहने भनिए पनि त्यसको व्यवस्था छ महिनासम्म पनि हुन सकेको छैन। 

अस्पतालमा एक्स–रे यन्त्र चलाउने प्राविधिक जनशक्तिसमेत नभएको अस्पताल व्यवस्थापन समिति सदस्य राजकुमार श्रेष्ठले रासससँग स्वीकार गरे। अस्पतालमा कार्यालय सहयोगीसहित २१ जनाको दरबन्दी भए पनि हाल १६ जना मात्र कार्यरत छन्। करारका चिकित्सक भने तीन जना छन्।

एक जना प्रदेश सरकारले उपलब्ध गराएको हो। अस्पतालका ल्याब निरीक्षक नारायण खनालले ल्याबका प्राविधिक कर्मचारी करारमा राखिए पनि एक्स–रे चलाउने प्राविधिक पाउन नसकिएको बताए। 'एक्स–रे यन्त्र आएको एक वर्ष भयो। पहिले राख्ने ठाउँ थिएन। बल्ल राख्ने ठाउँ बन्यो। अब एक्स–रे र इसिजी चलाउने जनशक्तिको प्रतीक्षामा छौँ', उनले भने। 

विसं २०३१ मा बनेको भवनमा अस्पताल चलाइएकाले ठाउँ पुर्‍याउन अप्ठ्यारो परेको हो। अस्पताल बनाउन उपयुक्त जग्गाको खोजी भइरहेको छ। राष्ट्रिय शहीद स्मारकसँग अस्पताल बनाउने जग्गा माग गरिएको व्यवस्थापन समिति सदस्य श्रेष्ठले सुनाए। 

अस्पतालमा स्तरोन्नति भएको बोर्ड झुण्ड्याएपछि दैनिक १०० भन्दा बढी बिरामी जचाँउन आउने गरेका छन्। तर स्वास्थ्यकर्मी नै नभएपछि उपचार नपाई निजी अस्पतालतिर लाग्न बाध्य छन्। अस्पतालमा हाल निःशुल्क पाइने ७० प्रकारका औषधि भने उपलब्ध भइरहेको जनाइएको छ।

प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा दिँदा दैनिक एक दर्जन मानिस आइपुग्न मुस्किल हुने अस्पतालको दर्ता पुस्तिकाबाट स्पष्ट हुन्छ। थप दरबन्दीका लागि गोकर्णेश्वर नगरपालिकासँग माग गरिएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन्। प्रदेश सरकारले अस्पतालमा स्तरोन्नति गरेपछि नगरपालिकाअन्तर्गत सञ्चालन हुने भनिएको छ, तर नगरपालिकाले अस्पतालका लागि आवश्यक सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ।

अस्पतालमा ‘एमडी’ चिकित्सक समेत छैनन्। अस्पतालले आफ्नै फार्मेसीसमेत चलाएको छ। फार्मेसीमा सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधिका साथै ३० किसिमका अन्य औषधि सःशुल्क खरिद गर्न पाइन्छ। 

पटकपटक अस्पतालमा सेवा लिन जाँदा पनि स्वास्थ्यकर्मी नभेटी फर्कनु परेको अस्पताल परिसरमा भेटिएकी बिरामी राममाया श्रेष्ठले बताइन्। नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्यो भनेर खुसी लागे पनि महिनौँसम्म उपचार गराउन नपाउँदा दुःख लागेको उनको भनाइ छ। 

अस्पतालका बारेमा गुनासो गर्न कार्यालय प्रमुख मेडिकल अधिकृत सृजना पाण्डेयलाई पटकपटक भेट्न खोज्दा पनि सम्भव नभएको सेवाग्राहीको गुनासो छ। अस्पतालमा पाइने सेवाका बारेमा अरु स्वास्थ्यकर्मीलाई जिज्ञासा राख्दा सूचना अधिकारी नतोकिएको भन्दै स्वास्थ्यकर्मी बोल्नै नमान्ने गरेको सेवाग्राही मंगलबहादुर तामाङले बताए। 

प्रत्येक स्थानीय तहमा एउटा अस्पताल बनाउने सरकारको नीति छ। यसैगरी विसं २०७७ को अन्त्यसम्म देशभरका सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतामा स्तरोन्नति गर्ने तयारीसमेत भइरहेको छ। नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना अस्पतालले दुई जना स्टाफ नर्स माग गरेकाले उपलब्ध गराउन लागिएको बताए।

अस्पताल प्रशासनले एक्स-रे, इसिजीजस्ता यन्त्र चलाउने प्राविधिक कर्मचारीका विषयमा केही नभनेको उनले बताए। स्तरोन्नति घोषणा गरी अस्पतालकै बोर्ड राखिए पनि दर्ता नहुँदा थप कर्मचारी प्राप्त नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शाखा प्रमुख हरिप्रसाद उपाध्याय मन्त्रालयमा अस्पताल दर्ताको प्रक्रियामा रहेकाले त्यसपछि आवश्यक जनशक्ति उपलब्ध हुने विश्वास उनले व्यक्त गरे। गत आर्थिक वर्षकै बजेटबाट केन्द्रलाई अस्पतालमा स्तरोन्नतिको घोषणा गरिएको थियो।  अस्पताल दर्ता भएपछि मन्त्रालयले नपठाए पनि नगरपालिकाले करारमा नियुक्त गरी प्राविधिक स्वास्थ्य सेवा दिइने उनको प्रतिबद्धता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.