|
फाइल फोटो

जुम्ला : जुम्लामा हिमपातका कारण एकजनाको मृत्यु भएको छ भने जडिबुटी संकलन गर्न गएका १२ जना सम्पर्कविहीन भएका छन्। पाटनदेखि सेतो चिनी लिएर आउँदै गरेका एक खच्चर गुवालाको मृत्यु भएको हो भने तिला गाउँपालिका-९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना बेपता भएका हुन्।

तिला गाउँपालिका-६ नेटा भन्ने ठाँउमा चिसोले कठयाँग्रिएर तिला गाउँपालिका-९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो। पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु तिला गाउँपालिका-९ का वडा अध्यक्ष शेरबहादुर बोहोराले बताए।

उनका अनुसार मृतक बोहोरासँगैका चारजना खच्चर गुवाला सकुशल फर्केका छन्। मृतकको शव लिन स्थानीय त्यसतर्फ गइसकेका छन्। तर, भारी हिमपातका कारण शव खोज्न कठिन हुने स्थानीय बताए।

त्यस्तै, बिहीबार जडिबुटी संकलनका लागि पाटनतिर गएको १२ जना सम्पर्कविहीन भएको आफन्तले बताएका छन्। जडिबुटी संकलनका लागि गएकाहरूसँग सम्पर्क हुन नसकेको तिला गाउँपालिका-९ का वडा अध्यक्ष बोहोराले जानकारी दिए। जडिबुटी संकलनमा चारजना महिला र ६ जना पुरुष सहभागि थिए।

उनका अनुसार सम्पर्कविहीन हुनेमा तिला-९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन्।

वडाध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले सम्पर्कविहीन भएकाहरूको उद्धारको लागि गृह मन्त्रालयलाई सूचना गर्ने तयारी गरिएको छ। उनले भने, ‘यो निकै दुःखद् पक्ष हो। उद्धारका लागि सम्बन्धित निकायालाई पत्र पठाउँदैछौँ।’

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गर्दै आफू पनि उद्धारको लागि गृह मन्त्रालयसँग आग्रह गर्ने जानकारी दिए।  गाउँमै झण्डै दुई फिटसम्म हिउँ जमेको छ। पाटनमा हिउँ धेरै परेको हुन सक्ने भन्दै सम्पर्कविहीन भएकाका आफन्तहरूले तत्काल उद्धार गरिदिन सरकारसमक्ष माग गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.