|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले आगामी पुस १५ गतेभित्रै महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गरेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताले बहिस्कार गरेको आइतबारको कार्यसमितिको बैठकले राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिलाई पुस १५ भित्रै कार्यतालिका ल्याउन निर्देशन दिएको हो।

नेता पौडेलले महाधिवेशनको कार्यतालिका ल्याए मात्रै बैठकमा सहभागि हुने बताउँदै आएका थिए। गत बिहीबार देउवाले पेलेरै विभिन्न विभाग गठनलगायतका एजेण्डाहरू प्रस्तुत गरेका थिए।

त्यस्तै आइतबारको बैठकमा संघीय ढाँचाअनुरूप पार्टीका संगठन पुनर्निर्माणमा जाने विषयमा पनि छलफल भएको छ। बैठकमा सहभागि देउवा पक्षका एक नेताले भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूले भने अनुसार नै महाधिवेशनको तालिका ल्याउन समितिलाई निर्देशन दिइएको छ। विभाग गठन भ्रातृ संगठन, तरुण दलको विवादबारे पनि छलफल भएको थियो।’

सोमबार पुनः कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। सोमबारको बैठकमा पौडेल पक्षलाई पनि सहभागि गराउन देउवा र उनी पक्षका नेताहरुले प्रयास गरिरहेको ती केन्द्रीय सदस्यले बताए।

सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच दूरी बढ्दै गएपछि देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले छलफलको नेतृत्व लिएर समाधानको प्रयास गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.