|
फोटो : रासस

काठमाडौं : बिहीबार नै सपथ लिएका खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले पदभार ग्रहण गर्दै मन्त्रालय र मातहतको निकायले काममा ढिलासुस्ती गरेको भन्दै असन्तुष्टी जनाएका छन्। 

राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिएपछि सवा चार बजे मन्त्रालयमा पुगेका मन्त्री सिंहले अति उच्च प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनासहित अन्य आयोजनाको काम सुस्त रहेकामा असन्तुष्टी जनाएका हुन्। 

‘मेलम्ची खानेपानी आयोजनाको लागि पाइप विच्छ्याउने काम म यही मन्त्रालयमा मन्त्री हुँदा प्रतिदिन एक हजार मिटर हुन्थ्यो’ मन्त्री सिंहले भने ‘तर आज किन तीन/चार सय मिटर भन्दा बढी हुन सकेन?’ सिंहले हाल कायम जनशक्तिले मन्त्रालयको काम गर्न नपुग हुने गुनासो समेत गरे।

आफू अघिल्लो पटक मन्त्री हुँदै दिएको निर्देशन कार्यान्वयन नभएको गुनासो पोख्दै सिंहले भने ‘छाता ऐन निर्माण, सेक्टर विकास योजना लागू र जनशक्ति वृद्धि गर्ने कार्ययोजना ल्याउन सचिवलाई निर्देशन दिन्छु।’ मन्त्री सिंहले तराई मधेस खानेपानी आयोजना एक सय स्थानमा निर्माण गर्ने योजना समेत कार्यान्वयन नभएको दुखेसो पोखे। 

राज्यमन्त्री र मबीच कुनै विवाद छैन

पदभार ग्रहण लगत्तै कर्मचारीलाई निर्देशन दिन पुगेका मन्त्री सिंहले राज्य मन्त्री दीपक खड्का र आफूबीच कुनैं विवाद नभएको दाबी गरे। उनले भने ‘मेरो अनुभव र उहाँको उर्जालाई समेटेर मन्त्रालयलाई गति दिन हामी तयार छौं।’

विगतमा आफूसँग फरक दलका सांसदलाई राज्य मन्त्री बनाए पनि कुनै विवाद नभएको दाबी गर्दै सिंहले हालका राज्यमन्त्री खड्कासँग पनि विवाद नभएको बारम्बार दोहोर्‍याए। उनले आफू र राज्यमन्त्री खड्का दुबैको व्यक्तिगत स्वार्थ नभएकोले जिम्मेवारी पूरा गर्ने कुनै पनि कर्मचारी डराउनुनपर्ने घोषणा गरे।  

मन्त्री सिंहलाई मन्त्रालयमा स्वागत गर्दै राज्यमन्त्री खड्काले आफुलाई प्रधानमन्त्रीले मन्त्रालयमा काम गर्ने विषयमा मन्त्री र राज्य मन्त्रीको झगडा नहोस् भनेर निर्देशन दिएको स्मरण गरे। उनले जनताप्रति उत्तरदायी भएर काम गर्ने र व्यक्तिगत स्वार्थ आफ्नो केही नभएकोले मन्त्रीसँग विवाद नहोला भन्ने विश्वास व्यक्त गरे। राज्यमन्त्री खड्काले भने ‘मेरो व्यक्तिगत स्वार्थ नैं केही नभए पछि मन्त्रीज्यूसँग बिबाद नहोला भन्ने मेरो विश्वास छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.