राजधानी तीनमध्ये एक ठाउँ

|

बुटवल : प्रदेश-५ को नाम र स्थायी राजधानी प्रदेशसभालाई सिफारिस गर्न बनेको विशेष समितिले लुम्बिनी नाम सिफारिस गरेको छ। नामाकरण र राजधानीको विषयमा समितिले तयार पारेको प्रतिवेदनमा स्थायी राजधानीका लागि बुटवल–सैनामैना, कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई सिफारिस गरिएको बुझिएको छ। हाल प्रदेश-५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ।

०७५ साउनमा तीन महिनाको समयावधिभित्र नामाकरण र राजधानीको विषयमा सिफारिस प्रतिवेदन बनाउन गठन भएको विशेष समितिले तीनपटकको म्याद गुज्रिनै लाग्दा प्रतिवेदन तयार पारेको हो। 

समितिका संयोजक दीपेन्द्रकुमार पुन मगरले आइतबार बसेको समितिको बैठकलले प्रतिवेदनलाई अन्तिम रूप दिएको र सोमबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइने बताए। ‘समितिको बैठकले सोमबार सभामुखलाई प्रतिवेदन  बुझाउने निर्णय गरेको छ।’ उनले भने।

यद्यपि, नाम र राजधानीबारे भने उनी खुल्न चाहेनन्। ‘संसद खुलेपछि प्रदेशसभामा पेश भएपछि सबै जानकारी बाहिर आउँछ।’ उनले भने।

विशेष समितिका एक सदस्यले मध्यमार्गी बाटो अपनाउँदै राजधानीका लागि उक्त स्थानहरू सिफारिस गरिएको संकेत गरे। ‘प्रतिवेदन प्रदेशसभामा पेस भएपछि प्रदेशसभाले नै राजधानी र नामको टुंगो लगाउनेछ’ उनले भने।

दोस्रो पटक म्याद गुज्रेपछि तेस्रोपटक थप भएको ६ महिनाको अन्तीम दिन सोमबार प्रतिवेदन प्रदेश सभामुखलाई बुझाउन लागेको हो। प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव र विज्ञहरु सम्मिलित उपसमितिले दिएको प्रतिवेदनका आधारमा प्रतिवेदन तयार पारिएको विषेश समितिका संयोजक पुनले जनाए।  विज्ञका रुपमा शिवराम प्रधान, डा.कृष्ण प्रसाद पौडेल र डा. उद्धवराज खड्का रहेका थिए। उनीहरूले प्रदेशका सबै सम्‍भावित ठाउँहरुको अध्ययन गरेपछि सुझाव तयार पारेका थिए।

भारतको चण्डिगढ सहरको अध्ययनपछि फर्केलगत्तै आइतबार बसेको समितिको बैठकले प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रतिवेदनलाई अन्तीम रुप दिएको हो।

२०७५ साउनमा प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित) को नियम १५२ मा व्यवस्था भएअनुसार बनेको विशेष समितिमा १५ सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.