|
प्रतीकात्मक तस्विर

स्याङ्जा : ५० जना क्षमताको जिल्ला कारागार स्याङ्जामा १५७ कैदीबन्दी राख्दा अनेक समस्या देखिएको छ। कैदीबन्दीहरुले खानेपानी, शौचालयदेखि सुत्ने ठाउँसम्मको अभाव भोगिरहेको बताएका छन्। 

कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए। चापागाइँले भने, “यहाँ यति  धेरै जना कैदीबन्दी छौँ, तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ।” चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको अभावले पालैपालो सुत्नु पर्ने अवस्था आएको बताए।

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकोले विभिन्न प्रकारका समस्या आउने गरेको र आफुले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए। उनले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुँदा सवारी साधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए। 

कारागारमा रहेका कैदीबन्दीहरुले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिसहरु आउने गरे पनि आफुहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.