डिजेल मात्रै आयात, ५ दिन चल्छ, ३ दिन बन्द

|

शारदा पोखरेल

बारा (अम्लेखगञ्ज) : भण्डारण क्षमताको अभाव भएपछि नेपाल आयल  निगम अम्लेखगञ्ज डिपोले  पेट्रोलियम  पाइपलाइन ५ दिन चालु  गरी ३ दिन बन्द गर्ने गरेको छ।  

पाइपलाइन  पूर्णरुपमा सञ्चालन गर्न प्रेटोलियम पदार्थ भण्डारण गर्ने ट्यांकीको अभाव भएपछि निगमले लगातार ५ दिन सञ्चालन गर्ने र ३ दिन पुरै बन्द गर्ने गरेको हो। 

‘पाइपलाइन चलेपछि लगातार ५ दिन २४ अ‍ै घन्टा चल्छ त्यसपछि ३ दिन  पुरै बन्द हुन्छ, फेरि ५ दिन लगातार चल्छ’, आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख  प्रदीपकुमार  यादवले भने। 

भण्डारण क्षमता नहुँदा निगमले पाइपलाइनबाट डिजेल मात्रै आयात गर्दै आएको  छ। ‘पाइपलाइन पूर्णरुपमा  सञ्चालन गर्दा  प्रतिघण्टा ३ लाख लिटरसम्म डिजल आयात गर्न सक्ने क्षमता हामीसँग छ’, नेपाल आयल निगमका प्रवक्ता सुशीलकुमार  भट्टराईले भने, ‘तर अहिले हामीले कम प्रेसरमा प्रतिघण्टा १ लाख ९४ हजार लिटर डिजल मात्रै आयात गरिरहेका छौँ।’ 

पाइपलाइन पूर्णरुपमा सञ्चालन गर्न थप ८ हजार केयल डिजेल भण्डारण गर्ने ट्यांकी आवश्यक  पर्ने निगमले जनाएको छ। ‘तेल आयातमा हाम्रो कारणले रोक्नुपर्ने अवस्था छ, ५ दिन आएको तेलले थप ३ दिन कभर गरिरहेका छौँ’, प्रवक्ता भने।  

निगमले पाइपलाइनबाट नोभेम्बरमा मात्रै ६ करोड ९० लाख लिटर डिजल आयात गरेको छ भने डिसेम्बरमा १४ तारिखसम्म एक करोड ८० लाख लिटर आयात गरेको अम्लेखगञ्ज डिपोले जनाएको छ।   

२३ हजार केयल प्रटोलियम पदार्थ भण्डारण गर्ने क्षमता रहेको अम्लेखगञ्ज डिपोमा १९ हजार   केयल डिजेल भण्डारण हुन्छ भने बाँकी ४ हजार प्रेटोल र मट्टितेल भण्डार गरिन्छ। 
हालको डिजेल भण्डारण क्षमतालाई बढाउने गरी निगमले  ४१-४१  सय लिटरको  २ वटा  ट्याकी निमार्ण गर्ने तयारी गरेको छ। 

‘तत्कालका लागि  थप २ ओटा डिजल  र अन्य प्रटोलियम पदार्थ भण्डारणको लागि २ गरी ४ ओटा ट्यांकी निमार्ण गर्ने तयारी गर्दै त्यसको लागि  जग्गाको व्यवस्थासमेत भइसकेको छ,’ अम्लेखगञ्‍ज डिपो प्रमुख यादवले भने। 

नेपाल-भारत  क्रस बोर्डर पेट्रोलियम पाइपलाइनबाट भदौ २४ गतेदेखि डिजेल आउन  सुरु भएको हो। हाल रक्सौलबाट प्रेटोल र मट्टीतेल लोड भए पनि डिजल भने  भारतको पटनाबाट  आयात भइरहेको छ। 

देशभरको कूल मागको ५० प्रतिशत माग धान्दै आएको अम्लेखगञ्ज डिपोले देशका मुख्य ठुला शहरहरु बिराटनगर, चितवन भैरहवा, र थानकोटका लागि अमलेखगञ्जबाट  लोड भइरहेको  यादवले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.