पैदल हिँड्न असर नगर्ने महानगरको दाबी

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले साइकल लेनको गुरुयोजना सार्वजनिक गरिसकेको छ। महानगरले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालनको तयारी गरिरहेको छ। पाँच वर्षअगाडि सडक विभागले निर्माण गरेको साइकल लेन शनिबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले साइकल चलाएर उदघाटन पनि गरिसकेका छन्।  

विभागले माइतीघरदेखि नयाँ बानेश्वर हुँदै कोटेश्वरसम्मको २.५ किलोमिटर खण्डमा  फुटपाथमा साइकल लेन निर्माण गरेको छ। यसै त फुटपाथ सानो भएको बेला त्यसैमा साइकल लेन निर्माण गर्दा पैदलयात्रीको स्वतन्त्र हिँड्न पाउने अधिकार खोसिने गुनासो पनि सुनिन थालेको छ।

साइकल र पैदलयात्रीलाई एकैठाउँ

साइकल लेन निर्माण भइसकेपछि राजधानीको रत्नपार्कदेखि बाहिरी जिल्ला जानका लागि सवारी पर्खने यात्रुलाई समस्या हुने भएको छ। बबरमहलमा भक्तपुर जान बस पर्खिरहेका यात्रु श्याम श्रेष्ठ साइकल लेन निर्माण भएपछि फुटपाथमा बस पर्खने यात्रुलाई समस्या हुने बताउँछन्। साइकलको बाटोमा यात्रुले बसको प्रतीक्षा गर्दामा समस्या हुने उनले बताए।

उनले भने, 'फुटपाथमा साइकलको डेडिकेटेट लेन बनाइएको छ। तर, फुटपाथमा हिँडने पैदलयात्रुलाई र बसको प्रतीक्षा गर्ने यात्रीलाई समस्या हुन्छ।'

साइकल पनि एकसाथ आउने पैदलयात्री पनि आफ्नो गन्तव्यमा जान लाग्दा समस्या हुने उनले बताए। भिडभाडको समयमा साइकललाई बाटो दिँदा मूलसडकमा परी दुर्घटना हुन सक्ने उनको धारणा छ।

अध्ययन गरेर योजना  निर्माण गरे पनि साइकल र पैदलयात्री एकैठाउँमा हिँडने व्यवस्था हुने दिन आउने उनको भनाइ छ। 'साइकल लेनमा बसका यात्री उभिने दिन नआओस्,' उनले भने। 

बबरमहलेखि भक्तपुर जान बसको प्रतीक्षा गर्नका लागि निश्चित स्थान तोकिनुपर्ने श्यामले बताए। 'साइकल पनि लेनमा हिँडछ। बसको प्रतीक्षा गर्ने यात्री पनि एउटै लेनमा उभिइरहेको हुन्छ,' उनले भने,'यसमा यात्रुको सुरक्षा हुँदैन। साइकल लेन, पैदल यात्रु र बसका यात्रुको लागि प्रतीक्षालय हुनुपर्छ।' 

फुटपाथ सानो छ यसमा पैदल यात्रुलाई हिडन पनि सानो भइरहेको बेला साइकल लेनको लागि पर्याप्त स्थान नहुने उनको भनाइ छ।

'साइकल लेनले फुटपाथ हराउँछ, ' उनले भने, 'विकासको नाममा पैदलयात्रीको अधिकार हराउने गरी साइकल लेन निर्माण नहोस्।'

साइकल लेनले पैदल यात्रुलाई असर गर्दैन

साइकल लेन निर्माण गर्दा पैदलयात्री र  बस प्रतीक्षालयलाई असर नगर्ने गरी बनाइने महानगरपालिकाको भनाइ छ।

प्रतीक्षालयलाई अगाडि सारेर लेनको निर्माण गरिने काठमाडौं महानगरपालिकाका सहरी आयोजनाका योजनाकार सोम रानाले बताए। उनले भने, 'भएको फुटपाथलाई एक इन्च पनि घटाउँदैनौँ। सकेसम्म फुटपाथलाई बढाउने योजनासहित डिजाइनको निर्माण गरिएको छ।'

बसको प्रतीक्षा गर्ने यात्रुलाई कुनै पनि डिस्टब नगर्ने गरी साइकल लेनको निर्माण गर्न लागिएको उनको दाबी छ।

साइकल लेन निर्माणको लागि कम्पनीको छनोट गरी निर्माण गरिने उनले बताए। 'लेन निर्माण गर्न बोलपत्र आह्‍वानको प्रक्रियामा गइसकेको छ,' उनले भने। सुरक्षा दृष्टिकोणले सबैलाई ध्यानमा राखी साइकल लेन निर्माण गरिने उनले जानकारी दिए।

सधैँ एउटै चाप रहँदैन

साइकलयात्री सधैँभरि एकनासले नआउने हुनाले पैदल यात्रीलाई असर नगर्ने काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनका अनुसार साइकलयात्रीले सडकमा बसको प्रतीक्षा गरेका यात्रीलाई असर नगर्ने चलाउँछन्। बसजस्तो निरन्तर साइकल आएको आएको गर्दैन त्यसैले सडकमा बसको प्रतीक्षा गरेका यात्रीलाई त्यस्तो असर नगर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.