|

बागलुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले कांग्रेसभित्र रहेका गुटहरूको अन्त्य आवश्यक रहेको बताए।

पार्टीलाई गुटबन्दीले खतरामा पार्ने भन्दै महतले गुटबन्दीको अन्त्य गरी एक भएर चल्नुको विकल्प नभएको बताएका हुन्। पार्टीका शीर्ष नेताहरू नै गुटबन्दीमा लाग्दा तल्लो तहसम्म असर देखा परेको भन्दै महतले चिन्ता व्यक्त गरे। 

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले पछिल्लो समयमा पार्टीभित्र गुट उपगुटको खेती झनै मौलाउँदै गएको बताए। गुटको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने उनको धारणा थियो। उनले शीर्ष नेताहरूका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरेर एक भएर अगाडि बढनुपर्नेमा जोड दिए। उनले नेतृत्व विच छलफल भएको १४ औं महाधिवेशनको मुद्दालाई सहमतिले निर्णय गरेर सभापति अगाडि बढ्नुपर्ने बताए।

‘सहमति गरेर समयावधि बढाऔं’, नेता महतले भने, ‘नेतृत्वले सवैको कुरा सुन्नु पर्दछ। हामी विपक्षसँग लड्ने हो। आफू आफू त सहमति बनाएर अगाडि बढ्ने हो।’ उनले समायवधि सकिएका भातृ एवं सुभेच्छुक संस्थाको यथाशिघ्र छिटो अधिवेशनको बाटोमा जानुपर्ने बताए। 

पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले कांग्रेसको ल्याएको बलियो अर्थनीतिको सिद्धान्तले राज्य बलियो भएको दाबी गरे। ‘हामीले खुल्ला अर्थ नीतिको सिद्धान्त ल्यायौं’ डा. महतले भने, ‘यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसाथ गरेको छ। कांग्रेसले बोकेको राजनितिक विचारमा सवै आउन बाध्य भएका छन्।’ उनले कांग्रेसले खोजेको समाजबादको पक्षमा सरकार विस्तारै लाइनमा आएको दावी गरे। 

नेता महतले पछिल्लो समयमा सरकारले लगाएको करको विषयमा भने, ‘करको सुरुवाती कांग्रेसकै सरकारका पालामा भएको हो। उ बेला कम्युनिस्टका साथीहरू चोक चोकमा हाम्रो पुतला दलन गर्न हिडनुभयो। तर अहिले सरकारले त्यही हरेक क्षेत्रमा लगाउने करमा बृद्धि गरेको छ। खै जनताको पक्षमा बोलेको यदि जनताको पक्षमा बोल्ने हो र कर महँगो भएको हो भने अहिले पनि पुतला दलन गर्नुपर्‍यो नि? ’ उनले थपे, ‘आफ्ना पालामा जे भए पनि राम्रो अरुका पालामा भएकोलाई नराम्रो ठान्ने प्रबृतिले देश कसरी माथि जान्छ?’  

महतले सरकारले आफ्ना गतिविधिले आफ्नो लोकप्रियता दिनानुदिन घटाउँदै गएको बताए। कार्यक्रममा यज्ञबहादुर थापाले कांग्रेस मुलुकको लोकतन्त्रको रक्षा गरेको पार्टी भएको हुँदा आफ्नो संगठन बलियो बनाएर लैजाने बताए। उनले सरकारका कामप्रति जनता आजित भएका हुँदा आउँदा दिनमा पुन कांग्रेसलाई नै देश समाल्ने अवसर मिल्ने पनि बताए। 

कार्यक्रम कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायको स्वागत र सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.