|

नरेन्द्रसिंह कार्की

दार्चुला : जिल्लामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ। शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो।

गाउँपालिकाभरिका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो। गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए। सो गाउँपालिका २ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ। रोकिएका विद्यालयहरूमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिनुभयो। गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ।

चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताउनुभयो। आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ। यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । 

घामका भरमा सञ्चार

शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो। जिल्लाको मुख्य रिपिटर टावर मै विद्युत् सेवा नहुँदा वर्षा र हिमपात हुने वित्तिकै जिल्लाको सञ्चार अवरुद्ध हुने गरेको छ।

जिल्लाभरी दर्जनबढी नेपाल टेलिकमका टावरहरू सञ्चालनमा छन्, तर मुख्य रिपिटर टावरमै अवरुद्ध भएपछि सदरमुकाम खलंगा बेलाबेलामा सञ्चारविहीन हुने गरेको छ। मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरिको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। 

टावर सौर्य प्रणालीमार्फत चल्दै आएको छ। हिउँले पूरै सोलार सिस्टम ढाक्ने बित्तिकै जिल्लामा सञ्चार अवरुद्ध हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युत पुर्‍याएपछि ट्रान्सफर्मर नहुँदा सुचारु हुन सकेको छैन। ट्रान्सर्फमर ढुवानीका लागि बजेट व्यवस्थापन हुन नसक्दा समस्या भएको टेलिकम प्रमुख गुरुङले जानकारी दिए। 'अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ', गुरुङ भने। 

नेपाल टेलिकमको कार्यालय रहेको सदरमुकाम खलंगामा विद्युतीकरणसहितको टेलिकम टावर छ। मुख्य रिपिटर टावरमा विद्युतीकरण नभएपछि खलंगामा रहेको टेलिकमको काम हुँदैन्। यस्तै महकाली नगरपालिका ४ बङ्गाबगडमा नमस्ते फोन टावरमा विद्युतीकरण छ।

महाकाली नगरपालिका १ छापरी, वडा नम्बर २ झुस्कु, वडा नम्बर ७ धाप र वडा नम्बर ९ दत्तु उलानी टावरमा विद्युतीकरण गरिएको छ। यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, शैल्यशिखर १ बलाँच, र मालिकार्जुन गाउँपालिकाको कुचाकोट टावरमा विद्युतीकरण पुर्‍याइएको छ। 

योबाहेक शैल्यशिखर ४ रानीशिखर, वडा नम्बर ६ बगोरा, नौगाड गाउँपालिका–३ खार, वडा नम्बर ४ सिप्टी, अपी हिमाल गाउँपालिका ४ खण्डेश्वरी, व्यास ६ कैचुला, वडा नम्बर १ छङ्गरु, मालिकार्जुनको कनौडा, वडा नम्बर ४ ऐरीछाना र मुख्य रिपिटर टावर बालशिखरका टावरहरू सोलारमार्फत सञ्चालन हुँदै आएका छन्। यस्तै मालिकार्जुन गाउँपालिका ८ शंकरपुर मार्मा गाउँपालिका ४ तपोवन र व्यास २ दाम्दाकोट राप्ला, नौगाड ४ सिप्टीलगायतका टावरमा नमस्ते फोन सेवा सञ्चालनमा ल्याइएको छ। 

भारतीय सिमको प्रयोगमा वृद्धि

टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सिम प्रयोगकर्ता बढेका छन्। हिउँदमा भन्दा पनि वर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ। 'दुई वर्ष अघिसम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो', स्थानीय लोकेन्द्रसिंह धामीले भने, 'नेपाली सlम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे। तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ।' 

अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटीएल, बीएसएनएल कम्पनीका सिम दार्चुलाको लेकम गाउँपालिका ३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन्।

भारतीय सिम नेपालको सिमभन्दा सस्तोमा डाटा चलाउन मिल्छ भने फोन र म्यासेज निःशुल्क हुन थालेपछि प्रयोग बढेको बीरसिंह महराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.